• पुष ११ २०८१, बिहीबार

दुग्ध डेरी चलाएर रविन्द्र यादवले कमाउँछन् मासिक ९० हजार

पुष १० २०८१, बुधबार

१० पुस, इनरुवा । सुनसरी सदरमुकाम इनरुवा–२ का रविन्द्र यादवले इनरुवा–२ मा दुग्ध डेरी सञ्चालन गरी मासिक रु ९० हजार बचत गर्दै आएका छन् । रोजगारीको खोजीमा दैनिक रूपमा मोटो रकम खर्च गरेर विदेशतर्फ जाने युवालाई उनले उक्त रकम स्वदेशमा लगानी गरी स्वरोजगार बन्ने सकिने सन्देश दिएका हुन् ।

मधेस आन्दोलनका बेलामा नेतृत्वदायी भूमिका निर्वाह गरेका यादवले कुनै ठाउँमा अवसर नपाएपछि ॐ शिवम दुग्ध तथा डेरी उद्योग सञ्चालन गरे ।

उनले स्थानीय तथा ग्रामीण क्षेत्रका किसानबाट दूध सङ्कलन गरी बिक्री गर्नुका साथै बचेको दूधबाट दही, पनिर र खुवा बनाएर बिक्री गर्दै आएका हुन् । यादवले अहिले सबै खर्च कटाएर मासिक रु ९० हजारसम्म आम्दानी भइरहेको जानकारी दिए ।

हरिनगर गाउँपालिकाबाट दैनिक तीन सय लिटर र देवानगञ्ज गाउँपालिकाबाट दुई सय लिटर दूध सङ्कलन हुँदै आएको उनले उल्लेख गरे । दैनिक रूपमा पाँच सय लिटर दूध, एक सय किलो, दही, दुई किलो खुवा र पाँच किलो पनिर बिक्री हुँदै आएको यादवले जानकारी दिए ।

उनका अनुसार मासिक रूपमा रु एक लाख २० हजार आम्दानी हुनेमा सबै खर्च कटाउँदा रु ९० हजार बचत भइरहेको छ । ‘साँझ र बिहान गरी दैनिक पाँच सय लिटरसम्म दूध बिक्री गर्दै आएको छु’, यादवले भने, ‘मासिक रूपमा बिजुली, घर भाडा, कर्मचारीलाई तलबलगायत अन्य खर्च रु ३० हजार हुँदै आएको छ ।’

रोजगारीका लागि विदेश जानुभन्दा स्वदेशमा स्वरोजगारका अवसर सृजना गर्नुपर्नेमा उनले जोड दिए । युवालाई विदेश पलायन हुनबाट रोक्न स्थानीय सरकारले तालिम, सीप प्रदान, अनुदान वितरणलगायत सहयोग गर्नुपर्ने उनको भनाइ छ ।