• पुष ८ २०८१, सोमबार

पुटिनलाई भेट्न एक्कासि रुस पुगे स्लोभाक प्रधानमन्त्री

पुष ८ २०८१, सोमबार

मस्को । स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिको रुस भ्रमणमा गएका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गर्न उनी एक्कासि रुस गएका हुन् ।  तीन वर्षअघि युक्रेनमाथि रुसले हमला गरेयता पुटिनलाई भेट्ने उनी तेस्रो पश्चिमी नेता भएका छन् । युद्धमा युरोपेली सङ्घले युक्रेनलाई दिइरहेको समर्थन र साथको फिको कडा आलोचक हुन् ।

वार्तामा आफू र पुटिनले स्लोभाकियामा रुसी ग्यास आपूर्तिबारे कुरा गरेको फिकोले बताए । आफ्नो रुस भ्रमण र यसको उद्देश्यबारे ईयूका शीर्ष अधिकारीहरूलाई शुक्रवार नै जानकारी गराइएको पनि फेसबुकमा एउटा पोस्टमा उनले लेखेका छन् । यो वर्षको सुरुमा फिको माथि गोली प्रहार भएको थियो ।

पुटिनसँग आफूले युक्रेनमा सैन्य अवस्थाबारे पनि लामो कुराकानी भएको पनि उनले बताए । दुवैले युद्धको छिटै शान्तिपूर्ण अन्त्यको सम्भावनाको साथै रुस र स्लोभाकियाबीचको आपसी सम्बन्धबारे पनि कुराकानी गरेको पोस्टमा फिकोले लेखेका थिए ।