• बैशाख १० २०८२, बुधबार

रास्वपालाई गृहमन्त्रीको प्रश्न– गरिबले भोकै बसेर जम्मा गरेको रकम खाइदिने अनि भिड जम्मा गरेर न्यायका कुरा गर्ने ?

पुष ३ २०८१, बुधबार

पुस ३, काठमाडौं । गृहमन्त्री रमेश लेखकले सबै दलको सहकार्यमा संविधान संशोधनको काम अगाडि बढाइने बताएका छन् । वर्तमान सरकार संविधान संशोधन, राजनीतिक स्थायीत्व, संविधानको रक्षा र दिगो आर्थिक विकासका लागि गठन भएको दावी गर्दै लेखकले सबै दलको सहकार्यमा संविधान संशोधनको काम अगाडि बढाइने बताए ।

नेपाल प्रेस युनियन रुपन्देहीले बुधबार तिलोत्तमामा आयोजना गरेको पत्रकार भेटघाटमा लेखकले १० वर्षको अवधिमा संविधानका सबल र दुर्बल पक्षलाई केलाएर संशोधनको प्रक्रियामा लाग्ने बताए । संविधान संशोधनका लागि नेपाली कांग्रेस र नेकपा एमालेले कार्यदल बनाएर काम अगाडि बढाएको उल्लेख गर्दै यसमा सबै दललाई ल्याउने प्रयत्न भएको उनको भनाइ छ ।

फरक प्रसंगमा लेखकले सहकारीको रकम ठगी, अपचलन र हिनामिना गर्ने सयौँ मान्छे जेल गएको बताउँदै गलत गरेका कसैले पनि उन्मुक्ति नपाउने बताए । उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि कुनै अमर्यादित व्यवहार नभएको बताए । मकै पोल्ने, दिनभर ठेला चलाउने, ज्याला मजदुरी गरेर जम्मा गरेको पैसा हिनामिना गर्नेले भिड जम्मा गरेर न्यायका कुरा गर्न नसुहाउने उनको भनाइ छ ।

‘लाखौँ गरीब मान्छेको अर्बौं रुपैयाँ हिनामिना गर्ने, ठगी गरेर अर्काको रकम खाइदिने अनि मानवअधिकार उल्लंघन भयो भन्ने, यो कस्तो कुरा हो ?’ मन्त्री लेखकले भने, ‘दिनभरी काम गरेको भोकै बसेर जम्मा गरेको रकम खाइदिने अनि भिड जम्मा गरेर न्यायका कुरा गर्ने ?’

भीडले न्याय दिने भए प्रहरी, अदालत र न्यायाधीश किन चाहियो भन्दै उनले प्रतिप्रश्न गरे । सहकारी ठगीका मुख्य योजनाकार जीबी राईलाई अनुसन्धानका लागि ल्याउने कुरामा सरकार गम्भीरतापूर्वक लागेको दावी गरे ।