• मंसिर २९ २०८१, शनिबार

सर्वोच्चमा पुग्यो अख्तियार

मंसिर २९ २०८१, शनिबार

काठमाडौं ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोग फैसला चित्त नबुझेको भन्दै सर्वोच्च अदालत पुगेको छ ।

विशेष अदालतले गरेको फैसला चित्त नबुझेर आयोग सर्वोच्चमा पुनरावेदन गर्न पुगेको हो ।

आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार प्रहरी चौकी खडैया बाँकेका इञ्चार्ज गजेन्द्रसिंह भण्डारी विरुद्धको मुद्दामा विशेष अदालतले गत वैशाख १३ को फैसलाबाट सफाइ दिएको थियो । सो सफाइप्रति आयोगलाई चित्त नबुझेको भन्दै आयोगले पुनः पुनरावेदन गरेको हो । आयोगले घूस रकमसहित पक्राउ गरेको प्रहरी सहायक निरीक्षक भण्डारीलाई विशेष अदालतले सफाइ दिएको थियो ।

यस्तै, आयोगले घूससहित पक्राउ गरेका प्रतिवादी हरिचन्द्र भुसालसमेतको मुद्दामा विशेष अदालतले गरेको फैसलामा चित्त नबुझेको भन्दै सर्वोच्चमा पुनरावेदन गरेको छ । सो मुद्दामा विशेषले गत जेठ १३ गते फैसला गरेको थियो ।
प्रतिवादीले गैरकानुनी रूपमा घूस लिने गरेको विषयलाई अदाललते समेत स्वीकार गरी सुमनकान्त ठाकुरसमेतलाई कसुरदार ठहर गरी फैसला गरेको भए पनि हरिचन्द्र भुसाललगायतलाई भने सफाइ दिएको थियो ।

सफाइ दिँदा लिएको आधारप्रति असन्तुष्टि जनाउँदै आयोगले शुक्रबार सर्वोच्च अदालतमा पुनरावेदन गरेको हो ।