• फाल्गुन २९ २०८१, बिहीबार

चिसोमा आफ्नो स्वास्थ्यको ख्याल राख्ने घरेलु उपाय

मंसिर २६ २०८१, बुधबार

केही दिनयता काठमाडौं उपत्यकासहित देशैभर अत्यधिक चिसो बढेको छ । चिसोमा आफ्नो स्वास्थ्यको विशेष ख्याल पुर्‍याउन आवश्यक छ ।

यस्तो अवस्थामा घरेलु उपायहरू अपनाएर चिसोबाट स्वस्थ रहन सकिन्छ ? केही टिप्सहरुः

चिसोबाट बच्नका लागि न्यानो कपडा लगाउनुपर्छ। यस्तै आगो ताप्ने, तेल मसाज गर्ने गर्दा पनि चिसोबाट बच्न सकिन्छ।

जाडो बेलामा झोलिलो पदार्थ धेरै खाने गर्नुपर्छ। झोलिलो पदार्थमा जोड दिनुपर्छ। तातो पानी, बेसार पानी, दूध, कालो चिया, कागती चिया, कफी तथा केहीमात्रामा दूध चिया पनि खान सकिन्छ। लगातार तातो पानी पिउने तथा बाफ लिने गर्न सकेमा चिसोबाट केही मात्रामा सुरक्षित हुन सकिन्छ।

लामो यात्रामा निस्कनुभन्दा अघि प्रशस्त पानी पिउनुपर्छ । यसले मौसम जति नै चिसो भयो भने पनि शरीर भित्रको वायु श्वासनलीसम्म पुग्दा तातो नै रहने गर्छ । ड्राइ एयर प्यासेजको समस्याबाट बच्नका लागि पनि यात्रामा निस्कनुअघि पानी पिउनु निकै राम्रो उपाय मानिन्छ ।

सामान्य स्थितिमाभन्दा व्यायाम गरेपछि शरीरबाट १० गुणा बढी तातो वाफ निस्कन्छ । जाडो मौसममा अत्यधिक व्यायाम गर्नबाट बच्नुपर्छ ।

चिसो समयमा बालबालिकाको हेरचाह सबैभन्दा महत्वपूर्ण कुरा हो। चिसोले गर्दा बालबालिकालाई निमोनियालगायतका रोगहरु देखापर्न सक्छन्। त्यसलाई कम गर्न तेल मसाज महत्वपूर्ण उपाय बन्न सक्छ । बालबालिकालाई तेल मसाज गरिदिने, मर्निङ वाक नगर्ने, समस्या परेमा स्वास्थ्य जाँच गराउने लगायतका काम गर्दा पनि चिसोबाट बच्न सकिन्छ।

बालबालिका, वृद्धवृद्धा तथा सबै उमेर समूहको व्यक्तिले चिसोमा न्यानो कपडा प्रयोग गर्नुपर्छ ।

जाडो मौसममा धेरै मानिस जोर्नीको दुखाइबाट ग्रसित हुन्छन् ।  शरीरका विभिन्न भागहरू दुख्ने, झमझमाउने जस्ता समस्याहरु हुन सक्छन्। तोरीको तेल मनतातो बनाएर मसाज गर्दा यसले केही हदसम्म दुखाई कम गर्छ। सकेसम्म न्यानो ठाउँमा बसेर तेल मसाज गर्दा चिसोको असर कम हुन्छ।

चिसो मौसममा मानिसमा देखिने अर्को समस्या भनेको छालामा फुस्रोपना हो । यस्तो वेला सुक्खा हावा लाग्छ र शरीरको पानी उडेर जान्छ । चिसोको वेला शरीरमा पानीको मात्रा पनि कम हुन जान्छ । जसले गर्दा छाला र ओठ फुस्रो हुने र फुट्ने समस्या हुन्छ । यस्तो वेला अत्यधिक पानी पिउने गर्नुपर्छ । त्यस्तै मोस्चराइजिङ क्रिम, नरिवल, आलमन्डको तेल छालामा लगाउनुपर्छ ।

जाडो मौसममा हृदयाघातको सम्भावना बढी हुन्छ । चिसो मौसमका कारण मुटुको मांसपेशीमा रगतको मात्रा कम हुन्छ । कहिलेकाहीँ मुटुको मांसपेशी नष्ट हुन जान्छ र रगत पम्पमा बाधा उत्पन्न हुन्छ । जसले हृदयाघातको समस्या बढाउँछ । मुटुरोगीहरूले धेरै चिसोमा काम गर्नु हुँदैन । नियमित व्यायामलाई पनि दिउँसोको समयमा सार्नुपर्छ । सकेसम्म शरीरलाई न्यानो बनाएर राख्नुपर्छ ।