चितवनमा नेपाली कांग्रेस र एमालेबीच दुईदलीय संयन्त्र गठन भएको छ । नेपाली कांग्रेसका जिल्ला सभापति राजेश्वर खनालका अनुसार आइतबार उक्त संयन्त्र गठन गरिएको हो । नेपाली कांग्रेसबाट तीन र नेकपा एमालेबाट तीन जना रहने गरी संयन्त्र गठन गरिएको छ ।
संयन्त्रमा कांग्रेसका तर्फबाट जिल्ला सभापति खनाल, सचिव ध्रुवराज पोख्रेल, वरिष्ठ जिल्ला सदस्य मिलनबाबु श्रेष्ठ रहेका छन् । जिल्ला उपसभापति राजीव न्यौपानेलाई आमन्त्रित सदस्यको रूपमा राखिएको छ । यस्तै नेकपा एमालेका तर्फबाट जिल्ला अध्यक्ष कमल पाठक, सचिव प्रकाश ढुङ्गाना र जिल्ला इन्चार्ज देवी ज्ञवाली संयन्त्रमा रहेका छन् ।
एमालेको तर्फबाट आमन्त्रित सदस्यमा कृष्णभक्त पोखरेललाई राखिएको जिल्ला सभापति खनालले जानकारी दिए । उनले भने, सरकारलाई तल्लो तहसम्म विकासको मूल प्रवाहमा जोड्ने उद्देश्यले संयन्त्र निर्माण गरिएको हो ।
यसले कांग्रेस र एमालेबीच हुने तल्लो तहको द्वन्द्वलाई न्यूनीकरण गर्ने उनले बताए । यसैबीच संयन्त्रको बैठकले चितवन जिल्लाको सातवटै स्थानीय तहमा तीनरतीन जनाको संयन्त्र निर्माण गरी वर्तमान सरकारको केन्द्रीय संरचना र भावना अनुरूप स्थानीय तहमा गतिविधि सञ्चालन गर्ने निर्णय गरेको छ । संयन्त्रको अध्यक्षता प्रत्येक बैठकमा आलोपालो हुने जनाइएको छ ।