बायाँबाट क्रमशस् दुर्गा प्रसाईं र हरिचन्द्र फुयाँल ।
१६ काठमाडौं । भारतीय गुन्डा नाइके लरेन्स विश्नोईको नाम लिएर नेपाली व्यवसायीलाई धम्क्याएको आरोपमा पक्राउ परेका व्यक्ति र विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंबीच कनेक्सन रहेको खुलेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले झापाको मेचीनगर–१३ का हरिचन्द्र फुयाँललाई बिहीबार पक्राउ गरेर काठमाडौं ल्याएको थियो । ती युवामाथि अनुसन्धान गर्दा प्रसाईंबीचको कनेक्सन खुलेको हो ।
सीआईबीका एक अनुसन्धान अधिकृतका अनुसार प्रसाईं र फुयाँलबीच पटक–पटक फोन संवाद हुने गरेको खुलेको छ । व्यवसायीहरूले धम्की आएको उल्लेख गरेको मितिमा मात्रै उनीहरूबीच १०० बढी पटक फोन सम्पर्क भएको सीआईबी स्रोतले जानकारी दियो । सीआईबीका एसपी तथा प्रवक्ता होविन्द्र बोगटीले पनि उनीहरूबीच फोन सम्पर्क भएको प्रमाणहरू फेला परेको स्वीकारे । ‘प्रसाईं र फुयाँलबीचको फोन सम्पर्क हुने गरेको प्रमाणहरू भेटिएका छन् ।
अब किन के उदेश्यले फोन सम्पर्क भए भन्ने विषयहरू अनुसन्धानकै क्रममा रहेका छन,’ बोगटीले अनलाइनखबरसँग भने । यसअघि सीआईबीले फुयाँललाई सार्वजनिक गर्दा पनि प्रसाईंको निर्देशनमा काम गरेको बताएको थियो । ‘भारतीय आपराधिक समूहको नामबाट व्यवसायीहरूलाई धम्की दिने कार्य दुर्गा प्रसाईंको निर्देशनमा गरेको देखिन्छ,’ सीआईबीले उल्लेख गरेको थियो । उनले नेपालका विभिन्न जिल्लाहरूबाट घिउ लगेर भारतमा बेच्ने गरेको प्रहरी समक्ष बताएका छन् । भारतको पानीट्यांकी भन्ने ठाउँमा आफ्नो पसल समेत रहेको उनको भनाइ छ ।