काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले बिआरआईको विषयले सरकारमा समस्या नआउने बताएका छन् । कांग्रेस गण्डकी प्रदेशले पोखरामा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले बिआरआईमा नेपाली कांग्रेस र नेकपा एमालेबीच फरक मत नरहेको बताए ।
अहिले देशको अर्थतन्त्रले थप ऋण धान्न सक्ने अवस्था नरहेको भन्दै उनले कांग्रेस अहिले अनुदानकै पक्षमा रहेको बताए ।
उपप्रधानमन्त्री सिंहले कुनै योजनामा ऋण लिएर काम गर्दा तिर्न सक्ने अवस्थामा ऋण लिन सकिने भए पनि अहिले नै ऋण लिइहाल्ने अवस्था नरहेको बताए ।
प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका क्रममा उठाउने विषयमा कांग्रेस र एमालेले संयुक्त रूपमा नै एजेण्डा तयार गरेको पनि उनले बताए ।
यसअघि चीनले दिने घोषणा गरेको अनुदान लिनका लागि सरकारले पहल गर्ने पनि उनको भनाइ थियो । त्यस्तै, उनले सरकार ढल्छ भनेर अफवाह फैलाइए पनि त्यसमा सत्यता नरहेको दाबी गरे ।