१३ मंसिर, काठमाडौं । नागरिक पहिलो अभियानले मंसिर १६ गते हुने स्थानीय निकायको उपनिर्वाचनमा गैरदलीय स्वतन्त्र उम्मेदवारलाई मतदान गर्न आह्वान गरेको छ । अभियानका प्रवक्ता प्रशान्त सिंहले विहीबार एक विज्ञप्ति जारी गर्दै स्थानीय निकायका लागि दलीयभन्दा गैरदलीय जनप्रतिनिधि बढी उपयोगी, कामकाजी र प्रभावकारी हुने देखिएको तर्क गरिएको छ।
‘स्थानीय निकाय दलीय राजनीतिक दाउपेच, चलखेल र षड्यन्त्रको थलो नभएर स्थानीय उन्नत लोकतन्त्र, सहमतीय अभ्यास, सामुदायिक विकास र सर्वाङ्गीण प्रगतिको आधारशीला हो’ विज्ञप्तिमा भनिएको छ, ‘देशमा दलतन्त्र, नेतातन्त्र, गुटतन्त्र आधारित कुशासन, भ्रष्टाचार, अतिदलीयकरण, कमिसनतन्त्र, सुस्त विकास र पक्षपात बढ्दै गएको सन्दर्भमा स्थानीय निकायका लागि दलीयभन्दा गैरदलीय जनप्रतिनिधि बढी उपयोगी, कामकाजी र प्रभावकारी हुने देखिन्छ ।’
स्थानीय लोकतन्त्रका सर्वोत्तम र पवित्र संस्थाका रूपमा चित्रित गर्दै नागरिक पहिलो अभियानले भनेको छ, ‘वडा र पालिकामा नागरिकत्व जति बलियो हुन्छ, देशको स्थानीय लोकतन्त्र उत्तिकै सबल, सक्षम र सफल हुन्छ। दलीय उम्मेदवार नागरिक भावनाको हैन, नेतातन्त्रका उपज हुन्’स्थानीय तहमा दलीय उम्मेदवारलाई चयन गर्दा नागरिक सार्वभौमसत्ता संकुचित हुने अभियानको तर्क छ ।
‘बहुदलीय लोकतन्त्रमा स्थानीय निकायको निर्वाचन दलीय आधारमै हुनु पर्दछ भन्ने छैन। दलतन्त्रभन्दा नागरिकतन्त्र अझ उन्नतस्तरको लोकतन्त्र हो’ अभियानको विज्ञप्तिमा भनिएको छ । अभियानले भारत, अमेरिका, स्वीट्जरल्याण्ड, क्यानडा, जापान लगायत संसारका थुप्रै लोकतान्त्रिक देशमा स्थानीय निर्वाचन गैरदलीय र स्वतन्त्र नागरिकत्वको आधारमा हुने उल्लेख गरेको छ ।