काठमाडौं, मंसिर १३ । काठमाडौंको कीर्तिपुरमा बिहीबार नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले छुट्टाछुट्टै चुनावी सभा गर्दैछन् । मंसिर १६ गते कीर्तिपुर नगरपालिकाको प्रमुख पदका लागि उपनिर्वाचन हुँदैछ ।
चुनावी प्रचारप्रसारको अन्तिम दिन आज ठूला दलहरूले चुनावी सभा गर्न लागेका हुन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भने बुधबार नै चुनावी सभा गरिसकेको छ । कीर्तिपुरमा विभिन्न पार्टीहरू र स्वतन्त्र उम्मेदवार गरी १९ जना चुनावी मैदानमा छन् ।
कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले लोकतान्त्रिक चोक कीर्तिपुरमा हुने चुनावी सभालाई बिहीबार सम्बोधन गर्ने कार्यक्रम छ । एमालेले कीर्तिपुरको पाँगामा चुनावी सभा गर्दैछ । बिहीबार दिउँसो महासचिव शंकर पोखरेललगायतले उक्त चुनावी सभालाई सम्बोधन गर्नेछन् ।
साथै माओवादीले पनि कीर्तिपुरको नगाउँ दोबाटोमा चुनावी सभा गर्दैछ । सभालाई अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लगायतले सम्बोधन गर्नेछन् । यहाँ माओवादीका उम्मेदवारलाई एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले समर्थन गरेको छ ।
बिहीबार राति १२ बजेदेखि चुनावी प्रचारप्रसार गर्न पाइँदैन, मौन अवधि सुरू हुन्छ । चुनावी प्रचारप्रचारको अन्तिम दिन दलहरूले कोणसभालाई सम्बोधन गर्न लागेका हुन् ।
मंसिर १६ गते ३३ जिल्लाका रिक्त ४४ पदका लागि स्थानीय तह उपनिर्वाचन हुँदैछ । यीमध्ये जिल्ला समन्वय समिति कैलाली र ओखलढुंगामा कांग्रेस उम्मेदवार निर्विरोध निर्वाचित भइसकेका छन् भने रूकुमपूर्वको पुथा उत्तरगंगा २ मा माओवादीका उम्मेदवार निर्विरोध भइसकेका छन् ।