काठमाडौँ । सरकारसँग सहमति भएपछि नेपाल एयरलाइन्सका पाइलटहरू काममा फर्किएका छन् । सेवा सुविधाको माग गर्दै बिरामीको बहाना बनाएर पाइलटहरू हडतालमा थिए । हडतालका कारण उडान प्रभावित बनेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पाइलटहरूसँग वार्ता गरेका हुन् ।
वार्तापछि पाइलटहरूले उडानमा फर्किने निर्णय लिएको मन्त्रालयका प्रवक्ता रामकृष्ण लामिछानेले जानकारी दिए । लामिछानेका अनुसार पाइलटले उठाएका सेवा सुविधाका विषयमा वैज्ञानिक आधारमा सम्बोधन गर्ने प्रतिबद्धता मन्त्रालयको तर्फबाट भएको छ । यसमा पर्यटन मन्त्रालय, अर्थ मन्त्रालय र नागरिक उड्डयन प्राधिकरणको समन्वयमा काम हुनेछ ।