१२ मंसिर, पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सहकारी ठगी आरोपमा प्रहरीले हिरासतमा राखेको बुधबार ४० दिन पुगेको छ । ३ कात्तिकदेखि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका लामिछानेको तजबिजमा पार्टी सञ्चालन भइरहेको छ । पार्टीले लिनुपर्ने हरेक निर्णयमा नेताहरू परामर्श लिन पोखरा पुग्छन् । पोखरा धाउनेहरूको अग्रपङ्तिमा उपसभापति डीपी अर्याल छन् ।
मंसिर ८ गतेबाट दोस्रो चरणको आन्दोलन गर्ने घोषणा गरेको राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिले त्यसको दुई दिनअघि मंगलबार र बुधबार केन्द्रीय समितिको बैठक राखेको थियो । बैठकमा नेताहरूकै विचार बाझिएपछि गत बुधबार उपसभापति डिपी अर्याल र प्रमुख सचेतक सन्तोष परियार सभापति रवि लामिछानेलाई भेट्न पोखरा आए ।
केन्द्रीय समितिमा उठेका विषय र अबको आन्दोलनबारे उनीहरू सभापति लामिछानेसँग छलफल गरेर काठमाडौं फर्के । बैठकमा सडकमा आन्दोलन र प्रदर्शन गरेर जाँदा नकरात्मक सन्देश पनि जान थालेको बारे केन्द्रीय सदस्यहरूले कुरा उठाएको उपसभापति अर्यालले रविलाई बताए । उपसभापति अर्यालले उपनिर्वाचनका उम्मेदवारका सन्दर्भमा पनि रविसँग छलफल गरे र काठमाडौं फर्के ।
गत बुधबारै बसेको केन्द्रीय समितिको बैठकले सडकमा आन्दोलन र प्रदर्शन गर्नबाट पछि हट्ने र ध्यान उपनिर्वाचनमा लगाउने निष्कर्ष निकाल्यो । पार्टी सभापतिसँग परामर्श गरेपछि रास्वपाले सडक प्रदर्शन नगर्ने निर्णय लिएको थियो । जुन कुराको पुष्टि सभापति रविले गत सोमबार पार्टीमार्फत प्रसारित गरेको सन्देशबाट जानकारी गराएका छन् । सन्देशमा भनिएको छ, ‘म चाहिँ नागरिकले दुःख नपाऊन् भनेर शान्तिपूर्ण ढंगले गरिएको आन्दोलन समेत नगर्नु भन्ने अनि मेराविरुद्ध सिंगो राज्य र केही मिडिया सुनियोजित भएर लागिरहने?’
सडक आन्दोलनले पार्टी सभापतिको पक्षमा माहोला बनाउन नसकेको र पार्टीभित्रको द्विविधा विवादको तहमा विकास हुन थालेको बारे हिरासतमा रहेका रविलाई नेताहरूले ब्रिफिङ गरेको रास्वपा स्रोतको दाबी छ । राजनीतिक प्रतिशोध साँधेर रविलाई पक्राउ गरिएको भन्दै सडक आन्दोलन तथा प्रदर्शन गरेर जनतालाई भन्नुभन्दा उपनिर्वाचनमा गाउँ र घरघरै पुगेर यसबारे बुझाउन नेता, कार्यकर्तालाई परिचालन गर्न रविले निर्देशन दिएका थिए ।
कात्तिक २७ गते उपसभापतिद्वय डिपी अर्याल, स्वर्णिम वाग्ले र कार्यवाहक प्रवक्ता मनिष झालगायतले रविलाई भेटेका थिए । करिब आधा घन्टा रविसँग भेटघाट र छलफल गरेका दुई उपसभापतिले पार्टी सञ्चालन बारे पनि छलफल गरेका थिए ।