९ मंसिर, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले प्राध्यापकबाट भएको अध्ययन बिदाको दुरुपयोग छानबिन गर्न त्रिविका पदाधिकारीहरूलाई निर्देशन दिने बताएकी छिन् । त्रिविका प्राध्यापक ५ वर्ष अध्ययन बिदामा बस्ने र त्यसपछि विदेशमै लुक्ने गरेको समाचार सार्वजनिक भएपछि मन्त्री भट्टराईले छानबिनका लागि त्रिविका पदाधिकारीलाई निर्देशन दिने बताएकी हुन् । ‘प्राध्यापकलाई बिदा दिने र स्वीकृत गर्ने विश्वविद्यालयले नै हो ।
यदि दुरुपयोग भएको रहेछ भने छानबिन गर्न निर्देशन दिन्छु,’ अनलाइनखबरसँग उनले भनिन् । अध्ययन बिदामा कति गए कति फर्किए यकिन तथ्यांक त्रिविसँग छैन । तथ्यांक अध्यावधिक गर्न पनि मन्त्री भट्टराईले सचेत गराउने बताएकी छिन् । ‘बिदामा बसेका प्राध्यापकको स्थिति के रहेछ तथ्यांक तयार पार्न निर्देशन दिन्छु । बिदामा थप कडाइ गर्न भन्छु,’ उनले भनिन् । त्रिविको १० वर्षको तथ्यांक हेर्दा ८०३ जना शिक्षकले अध्ययन बिदा लिएको देखिन्छ ।
तर यसमध्ये कति फर्किए, कतिले अध्ययन पूरा गरे, कतिले नगरी फर्किए र कति फरार छन् भन्ने अभिलेख त्रिविसँग छैन । १० वर्षमा बिदा बस्ने शिक्षकको तलब मात्रै हिसाब गर्दा पनि १ अर्ब ७६ करोड भन्दा धेरै हुन आउँछ । रेक्टर, रजिष्ट्रार, डीन कार्यालय, केन्द्रीय विभाग र केही क्याम्पस पुगेर अध्ययन बिदामा गएर नफर्किएका शिक्षकको विवरण संकलन गर्दा हामीले नै ५४ जनाको नाम फेला पारेका थियौं । यो संख्या धेरै गुणा बढी हुनसक्ने त्रिविका अधिकारीहरू नै बताउँछन् ।
५४ शिक्षकबाट मात्रै पनि ८ करोड बढी फिर्ता गर्नुपर्ने देखिन्छ । यदि अध्ययन बिदापछि नफर्किएमा, फर्केर सेवा नगरेमा वा अध्ययन पूरा नगरेमा तलब फिर्ता गर्नुपर्ने नियम त्रिविको छ ।