• मंसिर ८ २०८१, शनिबार

पूर्व डीआईजी जोशीको बयान सकियो, आजै पोखरा लगिँदै

मंसिर ७ २०८१, शुक्रबार

काठमाडौँ । काठमाडौँको कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको रकम अपचलनमा संलग्न पूर्व डीआईजी छबिलाल जोशीसँग प्रहरीले बयान लिएको छ । मंसिर ४ मा उनलाई काठमाडौँमा ल्याएर जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसन्धान अधिकृत र सरकारी वकिलले बयान लिएका हुन् ।

उनीसँगको बयान पुरा भएको अनुसन्धानमा संलग्न जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले रातोपाटीलाई बताए । प्रहरीले उनलाई शुक्रवार नै पोखरा पठाउने भएको छ । उनलाई मध्यान्ह पोखरा पठाउन लागिएको प्रहरीका एकजना उच्च अधिकृतले जानकारी दिए । जोशीमाथि प्रहरीले पोखराको सुर्यदशर्न सहकारी र बुटवलको सुप्रिम सहकारीको रकम अपचलनबारे पनि अनुसन्धान गरिरहेको छ ।

स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम गोरखा मिडिया नेटवर्कमा अवैध तरिकाले गएको भेटिएको छ । प्रारम्भिक अनुसन्धानबाट १ करोड ८२ लाख गोरखा मिडियामा अवैध तरिकाले लगेर अपचलन गरेको भेटिएको अनुसन्धानमा संलग्न जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले रातोपाटीलाई बताए । स्वर्णलक्ष्मीका ६४५ जना बचतकर्ताले प्रहरीमा जाहेरी दिएका छन् ।

पूर्वडीआईजी जोशी गोरखा मिडियाका सञ्चालक हुन् । उनी विरुद्ध पनि काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । जोशीको नाममा स्वर्णलक्ष्मीबाट १ करोड ३० लाख ऋण निकाशा भएको भेटिएको छ । अनुसन्धानमा संलग्न एकजना अधिकृत भन्छन्, ‘सो ऋण फिर्ता भएको पनि देखिन्छ ।’