• मंसिर ६ २०८१, बिहीबार

टुनामुटा गरी विरामी बनाएको भन्दै कर्णबहादुर कामीको हत्या

मंसिर ६ २०८१, बिहीबार

दैलेख । दैलेखमा एकजनाको हत्या भएको छ । जिल्लाको दुल्लु नगरपालिका–१३ खडिकाधाराका ५६ वर्षीय कर्णबहादुर कामीको हत्या भएको हो ।

बुधबार साँझ सोहि ठाउँका ४३ वर्षीय भुवनसिंह विकले कर्णबहादुरको घरमै गई उनको घाँटीमा हँसिया प्रहार गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी सुनिल दाहालले जानकारी दिए ।

घाँटीमा धारिलो हतियार हँसिया प्रहारबाट गम्भीर घाइते भएका कर्णबहादुरलाई उपचारका लागि दुल्लु अस्पतालमा लगिएको थियो । उनको उपचारकै क्रममा मृत्यु भएको डिएसपी दाहालले बताए ।

कर्णबहादुरलाई धारिलो हतियार प्रहार गर्ने भुवन सिंहलाई प्रहरीले प्रक्राउ गरेको छ । ‘हँसिया प्रहार गर्ने व्यक्तिलाई पक्राउ गरेका छौँ,’डिएसपी दाहालले भने, ‘प्रारम्भिक अनुसन्धानबाट मृतक कर्णबहादुर धामी रहेको र उनले टुनामुना गरि आफूलाई बिरामी पारेको भन्दै भुवनसिंहले कर्णबहादुरमाथि हँसिया प्रहार गरेको खुलेको छ ।’

घटनामा थप अनुसन्धान भइरहेको डिएसपी दाहालले जानकारी दिए ।