काठमाडौं । साइबर अपराधमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप अनुसन्धान गर्न म्याद थपका लागि आज अदालत पेस गरिने भएको छ ।
उनीमाथि किर्ते र विद्युतीय अपराध नियन्त्रण ऐनअन्तर्गतको कसुरमा अनुसन्धान भइरहेको र थप अनुसन्धानका लागि म्याद थप गर्न आज पेश गर्ने प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ ।
सीआईबीका प्रवक्ता होविन्द्र बोगटीले प्रधानमन्त्री केर्पी ओलीको मानमर्दन हुने गरी झुठो र भ्रामक समाचार सम्प्रेषण गरेकाले प्रसाईंलाई पक्राउ जानकारी दिए । बुधबार बिहान भक्तपुरस्थित निवासबाट पक्राउ परेका प्रसाईंलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले वीर अस्पतालमा स्वास्थ्य जाँचपछि थप अनुसन्धानका लागि साइबर ब्यूरोमा पठाएको थियो ।
प्रसाईंले किर्ते कागजात देखाएर प्रधानमन्त्री ओलीको कम्बोडियास्थित स्मार्ट एक्जिएटा टेलिकम कम्पनीमा लगानी रहेको भन्दै प्रसाईंले सोमबार केही कागजात सार्वजनिक गरेका थिए ।
प्रसाईंले सुनियोजित रूपमा नै नक्कली कागजात भेला गरेको र भ्रम फैलाउन सामाजिक सञ्जालमा सार्वजनिक गरेको प्रहरीको अनुमान छ । सीआईबी प्रमुख एआईजी दीपक थापाले प्रसाईंले सार्वजनिक गरेका सबै कागजात र विवरण झुठो रहेको बताए । उनले भने, ‘कागजातका विषयमा प्रहरीले चेकजाँच गरिरहेको छ ।’
प्रारम्भिक रिपोर्ट अनुसार सबै कागजात किर्ते छन् । प्रसाईंले प्रधानमन्त्रीको हस्ताक्षर नै नक्कली बनाएको प्रहरीको आरोप छ । प्रहरीले उक्त ‘फेक डकुमेन्ट’ प्रचारप्रसार गर्नेमाथि पनि निगरानी बढाएको छ । उनले यसअघि पनि पटक-पटक विभिन्न आरोप र लान्छना लगाउँदै पत्रकार सम्मेलन गर्ने, भाषण गर्ने र सामाजिक सञ्जालमार्फत भ्रम फैलाएका थिए । उनीमाथि अनुसन्धान गरेर कारबाही गरिने केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ ।