रौतहट। रौतहटको गौरमा घरभित्रै गोदाम बनाएर लुकाइछिपाइ राखिएका भन्सार छलीका १० लाख रुपैयाँभन्दा बढी मूल्यका सामान प्रहरीले बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी वसन्त गौतमले शुक्रबार अपराह्न जारी गरेको विज्ञप्तिअनुसार गौर नगरपालिका–१ स्थित मनोज साहको घरमा भन्सार छली गरी ल्याइएका अवैध सामान गोदाम बनाएर लुकाइएको विशेष सूचना प्राप्त भएपछि संयुक्त सुरक्षा टोलीले छापा मारेको थियो।
बिहीबार राति १ बजेर १० मिनेटको समयमा भन्सार सुरक्षा गार्ड गौर (नेपाल प्रहरी), सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म हेडक्वार्टर गौर र गौर भन्सार कार्यालय रौतहटबाट खटिएको संयुक्त टोलीले साहको घरमा कानुनबमोजिम खानतलासी गरेको थियो।
खानतलासीका क्रममा १० लाख १२ हजार २०० रुपैयाँ मूल्य बराबरका साडी, कुर्ती, तन्ना सेट, झुललगायतका लत्ताकपडा तथा खरेटो झाडु र फूल झाडु बरामद गरिएको डीएसपी गौतमले जानकारी दिएका छन्। बरामद गरिएका सम्पूर्ण सामान आवश्यक कानुनी कारबाहीका लागि गौर भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।
घरलाई नै गोदाम बनाएर भन्सार छलीका सामान भण्डारण गरिएको सूचनाका आधारमा गरिएको संयुक्त कारबाहीले सीमावर्ती क्षेत्रमा हुने अवैध ओसारपसार नियन्त्रणमा सुरक्षा निकायको सक्रियता बढेको सङ्केत गरेको छ।