• मंसिर ५ २०८१, बुधबार

क्यान र स्टार स्पोट्र्सको सम्झौता अवैधानिक रहेको ३ संस्थाको आरोप

मंसिर ४ २०८१, मंगलवार

४ मंसिर, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) को प्रत्यक्ष प्रसारण गर्न स्टार स्पोट्र्ससँग सम्झौता गर्दा गम्भीर गल्ती गरेको तीन संस्थाहरूले आरोप लगाएका छन् । क्यानले एनपीएलको प्रत्यक्ष प्रसारण भारतीय च्यानल स्टार स्पोट्र्ससँग गर्ने सम्झौता गरेको छ । उक्त सम्झौता गर्ने क्रममा गम्भीर त्रुटि भएको सञ्चार तथा विज्ञापन क्षेत्रका तीन संस्थाले मंगलबार एक संयुक्त विज्ञप्ति जारी गर्दै आरोप लगाएका छन् ।

नेपाल विज्ञापन संघ, राष्ट्रिय विज्ञापन संघ नेपाल र मिडिया अलाइन्सद्वारा जारी संयुक्त विज्ञप्तिमा ‘केही कानुनी र केही नैतिक तथ्यहरूमा अवैधानिक, गैरकानुनी र गैरव्यवसायिक तथा अनैतिक क्रियाकलापहरू जानाजान वा भुलवश हुन गएको’ आरोप लगाइएको छ । क्यानले सरकारले विदेशी च्यानलहरूमाथि लागु गरेको विज्ञापनरहित नीति र नियमहरू एनपीएल प्रत्यक्ष प्रसारणको क्रममा उल्लंघन गर्न नसक्ने विज्ञप्तिमा उल्लेख छ ।

‘जसलाई उजागर गरेर ती अवैधानिक र अनैतिक हुने गल्ती र गैरकानुनी क्रियाकलापहरू तत्काल सच्याउन र त्यस्ता कानुन बर्खिलाप हुने कार्य बन्द गर्न अनुरोध समेत गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ । सम्झौताको क्रममा क्यानले देशको कानुन उल्लंघन गरेको तीन संघको जिकिर छ । प्रतियोगिताका खेलहरूको उत्पादन, प्रत्यक्ष प्रसारण र बजार व्यवस्थापनको जिम्मा बिना प्रतिस्पर्धा एउटा विदेशी कम्पनीलाई दिएको र क्यान जस्तो सार्वजनिक संस्थाले नेपालको कानुनले अनिवार्य गरेको सार्वजनिक खरिद ऐन र खेलकुद ऐनको धारा ४४ को बुँदा नं. २ लाई पूर्ण बेवास्ता गरेको तीन संघको आरोप छ ।

खेलकुद ऐनको उक्त धारामा ‘कुनैपनि राष्ट्रिय वा अन्तर्राष्ट्रिय खेलकुद आयोजना गर्दा कुनैपनि अन्तर्राष्ट्रिय संस्थासँग सम्झौता गर्दा मन्त्रिपरिषदको स्वीकृति अनिवार्य रहेको’ तीन संघले जिकिर गरेका छन् । क्यानले यसक्रममा गरेका त्रुटिहरू नसच्याए कानुनी दायरामा ल्याउने चेतावनी ती संघहरूले दिएका छन् ।