मंगलबार उनलाई भक्तपुरको निवासबाट केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको एसपी होबिन्द्र बोगटीले जानकारी दिए।‘साइबर अपराध मुद्दामा उनलाई पक्राउ गरिएको हो,’ उनले भने ।
प्रसाईंले कम्बोडियाको टेलिकममा प्रधानमन्त्री ओलीको साढे ३२ अर्ब लगानी रहेको भन्दै भिडिओ कलमार्फत् कसैले देखाएको कागजात सार्वजनिक गरेका थिए । प्रमाण भन्दै सार्वजनिक गरिएको स्क्रिनसट पत्यारिलो देखिन्न ।त्यही अपत्यारिलो प्रमाण मंगलबार दिउँसोदेखि सामाजिक सञ्जालमा सेयर भइरहेको छ ।
प्रधानमन्त्री ओलीले कम्बोडियाको टेलिकममा लगानी गरेको र त्यसैको ‘तथ्य प्रमाण’ भन्दै सेयर गरिएको उक्त स्क्रिनसटलाई केही सञ्चारमाध्यमले समाचारकै रूपमा प्रस्तुत गरेका छन्। ।सामाजिक सञ्जाल फेसबुकमा अनुप नेपाल नामको आइडीबाट त्यही स्क्रिनसटलाई भिडिओ बनाएर हालिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको फोटोलाई प्रोफाइल पिक्चर राखिएको उक्त खातामा हालिएको भिडियोमा उक्त ‘अपुष्ट प्रमाण’ केही समयदेखि राष्ट्र राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ अभियान चलाइरहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्राप्त भएको भनिएको छ ।
प्रसाईंले केही समय अघिदेखि प्रधानमन्त्री ओलीलाई यस्तो आरोप लगाउँदै आएका थिए। उनै प्रसाईंले सोमबार त्यो चिर्कटो सार्वजनिक गरेका हुन्। ।
‘मैले तथ्यमा आधारित सत्य कुरा, कम्बोडियाको लगानी, मैले आजभन्दा एक वर्षअगाडि बोलेको थिएँ कि, अहिलेका प्रधानमन्त्री खड्गप्रसाद ओलीको लगानी मैले कम्बोडियामा छ भन्दाखेरी उहाँले सदनमा के भन्नुभएको थियो भने त्यो मेरो लगानी त्यहाँ छ भने त्यसमा म कतिपैसा थपेर जसले भन्छ त्यसलाई दिन्छु भन्नुभएको थियो। त्यसपछि मैले हरेक पहल गरेर मैले कम्बोडियामा २१ करोड डलर, नेपाली साढे ३२ अर्ब रुपैयाँ, त्यहाँ खड्गप्रसाद ओली भनेर लेखेको छ सेयरसहितको प्रमाणित कागज, त्यो पनि गुगलमा गएर प्रमाणित गरेर, फेरि भोलि होइन भन्छन्, कुरा बुझ्नु भएन, त्यो मैले प्रमाणित गरेर ल्याएको छु। त्यो सार्वजनिक गर्दैछु,’ उनले सार्वजनिक गर्दै भनेका थिए ।
उनका यो भनाइसहितको भिडियो योहो टेलिभिजनको युट्युव च्यानलमा रहेको छ ।प्रसाईंले तथ्य–प्रमाण भन्दै प्रस्तुत गरिएको चिर्कटोमा प्रधानमन्त्री ओलीको हस्ताक्षर मात्र होइन, नामसमेत बिग्रिएको छ ।
गत असोज ६ गते पनि साइबर अपराध कसुरमा उनलाई पक्राउ गरिएको थियो। उनीविरूद्ध विद्युतीय कारोबार ऐन २०६३ अनुसार दुइटा जाहेरी परेको थियो। असोज १५ गते दुइटा मुद्दामा ५० र ५० हजार धरौटीमा उनी छुटेका थिए ।