मंसिर २, काठमाडौँ — पृथ्वी राजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–५ गोरेचौतारा घुम्तीमा आइतबार अपरान्ह दुई वटा बस ठोक्किँदा एक जना चालकको मृत्यु भएको छ । दुर्घटनामा परी अरू ३० जना घाइते भएका छन् । तनहुँका डीएसपी अशोक थापाका अनुसार दुर्घटनामा परी जीएए ००७० नम्बरको बसका चालक तनहुँको ऋषिङ पाटन घर भइ हाल कास्की बस्दै आएका ३९ वर्षीय रामबहादुर परियारको मृत्यु भएको हो ।
दुर्घटनामा परी घाइते भएका उनलाई उपचारका लागि लक्ष्मी अस्पताल डुम्रे पुर्याइएकोमा उपचारको क्रममा मृत्यु भएको हो । पोखराबाट नेपालगञ्जतर्फ जाँदै गरेको भे १ ख ३४८७ न।को बस र काठमाडौँबाट पोखरा जाँदै गरेको जीएए ००७० नम्बरको बस एकआपसमा ठोक्किएका थिए । दुर्घटनामा परी घाइते भएका ३० जनामध्ये १५ जनाको लक्ष्मी अस्पतालमा उपचार भइरहेको छ भने बाँकी १४ जनालाई मोती अस्पताल लगिएको छ ।
टाउकोमा चोट लागेर गम्भीर घाइते अर्का एक जनालाई मोती मेडिकलमा सामान्य उपचारपछि थप उपचारका लागि चितवन मेडिकल कलेज पठाइएको डीएसपी थापाले जानकारी दिए ।