मंसिर २, काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको बचत हिनामिनामा यसअघि २४ जनाविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ ।
काठमाडौँ — पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपाल प्रहरीका पूर्व डीआईजी छविलाल जोशीविरुद्ध जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी जारी गरेको छ । गोर्खा मिडिया नेटवर्कमा रहँदा काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको बचत अपचलन प्रकरणमा अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरी अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।
यही सहकारीको बचत अपचलन प्रकरणमा गोर्खा मिडियाका अध्यक्ष गितेन्द्रबाबु राई सहित २४ जनाविरुद्ध यसअघि नै पक्राउ गर्न अदालतले अनुमति दिइसकेको छ । गोर्खा मिडिया नेटवर्क तत्कालीन प्रबन्ध निर्देशक समेत रहेका लामिछाने र तत्कालीन उपाध्यक्ष रहेका पूर्व डीआईजी जोशी हाल कास्की प्रहरीको हिरासतमा छन् । दुवैजनाविरुद्ध पोखराको सूर्यदर्शन सहकारीको बचत अपचलनको अनुसन्धान भइरहेको छ । त्यस्तै बुटवलको सुप्रिम सहकारीको रकम अपचलनमा समेत प्रहरीले लामिछाने र जोशीसँग बयान लिइसकेको छ ।
रुपन्देही अदालतले समेत उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनमा अनुसन्धानका लागि यसअघि पक्राउ पुर्जी जारी हुनेमा जीबीसहित स्वर्णलक्ष्मी सहकारीका उपाध्यक्ष देवेन्द्रबाबु राई, कोषाध्यक्ष कुमार रम्तेल, सचिव इरान लामा, सहसचिव कविता लामा, सदस्यद्वय हेमन्त अधिकारी र रविना रिमाल, पूर्वकर्जा उपसमिति सदस्य सुरज श्रेष्ठ, पूर्वकोषाध्यक्ष मीरा बम्जन, पूर्वसहसचिव माया राई र पूर्वप्रबन्धक नवीन अछामी छन् ।
पूर्वसञ्चालकहरू दीपक लामा, सविना आले मगर, भक्तबहादुर भोलन, यामकुमार नाल्बो, राजु बराल, पुनमकुमार चालिसे, प्रदीप लामा, सविता लामा, गणेशराज श्रेष्ठ, सुनिता नेवा, शान्तिकुमारी सुवेदी, रोमन काफ्ले, कमल लामा, पूर्वकर्जा उपसमिति सदस्य राजु बरालविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । सहकारीको बचत हिनामिना अध्ययन गर्न एमाले सांसद सूर्यबहादुर थापाको नेतृत्वमा गठित संसदीय छानबिन विशेष समितिले पनि स्वर्णलक्ष्मीको बचत अपचलनबारे प्रहरीबाट अनुसन्धान गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन भनेको थियो ।