• मंसिर ३ २०८१, सोमबार

पूर्वसभामुख ढुङ्गानाले जीवनसंगिनी भुवनको काखमा फेरेका थिए अन्तिम सास

मंसिर २ २०८१, आईतवार

मंसिर २, काठमाडौं । एक महिनाअघि मात्र कलेजोमा समस्या आएपछि भारतमा उपचार गरी फर्केका थिए पूर्वसभामुख दमननाथ ढुङ्गाना । उपचारपछि घरमै आराम गर्ने, हिँडुडुल गर्ने गर्थे ।

भाञ्जा सुरज भट्टराईका अनुसार, हिजो शनिबार सुत्नुअघिसम्म उनी ठीकठाकै थिए । तर, बिहान गाह्रो भएको बताए । मध्यबानेश्वरको फ्रन्टलाइन अस्पतालमा भोलि एमआरआई गर्ने समय लिइएको थियो । अघिल्लो दिन ढुङ्गानालाई घरमै एक्कासि साह्रो साह्रो भए ।

उनी श्रीमती भुवनको काखलाई सिरानी बनाएर पल्टेका थिए । परिवारका अन्य सदस्यले एम्बुलेन्स बोलाए । ‘माइजुकै काखमा उहाँले अन्तिम सास फेर्नुभयो’, भट्टराईले भने ।

बत्तीसपुतलीस्थित घरमा एम्बुलेन्स आएपछि उनलाई अस्पताल पुर्याइयो । तर, त्यहाँका चिकित्सकले ढुङ्गानालाई मृत घोषणा गरे । निधनको कारण कलेजोसम्बन्धी समस्या नै भएको बताइएको छ ।

ढुङ्गानाका दुई छोरा, एक छोरी र श्रीमती छन् । जेठा छोरा बेलायतको लण्डनमा बस्ने भएकाले भोलि सोमबार उनी आएपछि मात्रै ढुङ्गानाको अन्त्येष्टि गरिने भएको छ ।