• मंसिर २ २०८१, आईतवार

आफ्ना उम्मेदवार अपहरण गरिएको भन्दै रास्वपाले दियाे निर्वाचन आयोगमा उजुरी

मंसिर २ २०८१, आईतवार

सिमिकाेट ।  हुम्लाको सर्केगाड गाउँपालिकामा उपाध्यक्ष पदका लागि उम्मेदावारी दिने तयारी गरेका आफ्ना उम्मेदवारलाई अपहरण शैलीमा लछारपछार पार्दै अज्ञात स्थलतर्फ लगिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी ले निर्वाचन आयोगमा उजुरी दिएको छ ।

पार्टीका तर्फबाट कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले दिएको उजुरीमा सर्केगाड गाउँपालिकाको उपाध्यक्ष पदमा उम्मेदवारी दिने तयारी गरेकी रास्वपाकी सुजता थापा र उनका श्रीमानलाई शनिबार दिउँसो ४०/५० जनाको समूहले अपहरण शैलीमा अज्ञात स्थलतिर लगेको उल्लेख छ ।

यो कुरा थाहा भएलगतै हुम्लाका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयलाई जानकारी गराइएको उनले बताएका छन् । यसअघि पनि अन्य व्यक्तिले यस घटनाको सूचना दिएकोले आवश्यक खोजतलास उद्धारको लागि प्रहरी परिचालन गरिसकेको जवाफ प्रजिअले दिएका थिए ।

‘रास्वपाका उम्मेवार र उहाँको परिवारलाई त्यसरी अपहरण शैलीका अज्ञात स्थलमा लछारपछार गरी लगी रास्वपाबाट उम्मेदवारी नदिन धम्क्याउँदै मानसिक दबाब दिने र उम्मेदवारी दिएमा जे पनि हुनसक्ने सम्मको यातना दिइएको पाइएको र त्यस पश्चात् निज सुजाता थापा र  उहाँ परिवार मानसिक तनावमा देखिएको र हाल असुरक्षाका कारण उम्मेदवारी दिन नसकिने मनस्थितिमा पुग्नुभएको पाइएको छ’, रास्वपाले निर्वाचन आयोगमा दिएको उजुरीमा भनिएको छ ।

स्थानीय स्रोतलाई उद्धृत गर्दै बुर्लाकोटीले उक्त कार्यमा स्थानीय नेपाली कांग्रेसका सदस्यहरू संलग्न रहेको सूचना प्राप्त भएको बताएका छन् । त्यसैगरी हुम्ला सर्केगाडमा उम्मेदवार तय गर्न र प्रचारप्रसारमा खटिएका राष्ट्रिय स्वतन्त्र पार्टीका केही सदस्यमाथि समेत दुर्व्यवहारका साथै लछारपछार र कुटपिटसमेत भएको  बुर्लाकोटीले लेखेका छन् ।