मंसिर २, काठमाडौं । स्थानीय तह उपनिर्वाचनका लागि आइतबार बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म उम्मेदवारी दर्ताको कार्यक्रम छ ।
स्थानीय तहका ३४ रिक्त पदका लागि यही मंसिर १६ गते निर्वाचन हुँदैछ । काठमाडौं महानगरपालिका वडा नम्बर १६ मा पनि अध्यक्ष पदका लागि निर्वाचन हुनेछ ।
काठमाडौं र अन्यत्रका उपनिर्वाचनमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह पक्षले कसैलाई उम्मेदवार बनाउँछन् कि बनाउँदैनन्, कसैलाई समर्थन गर्छन् कि गर्दैनन् भन्ने पनि चासो छ ।
मेयर शाहका प्रेस सहजकर्ता सुरेन्द्र बजगाइंले उपनिर्वाचनमा मेयर शाहको पक्षबाट उम्मेदवारी नरहने बताए । ‘हाम्रो तर्फबाट स्थानीय तह उपनिर्वाचनमा कहीँ पनि उम्मेदवार खडा गरिएको छैन,’ उनले भने, ‘काठमाडौं महानगरभित्र वडा नम्बर १६ मा अध्यक्ष पदमा निर्वाचन छ, त्यहाँ पनि हाम्रो पक्षबाट उम्मेदवारी छैन ।’
उनले देशका विभिन्न ठाउँमा हुने उपनिर्वाचनमा पनि उम्मेदवारी खडा नगरिएको र कसैलाई पनि समर्थन गर्ने नीति नरहेको प्रष्ट पारेका छन् । २०७९ वैशाखमा भएको स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवारी दिएर बालेन मेयर निर्वाचित भएका थिए ।