• मंसिर १ २०८१, शनिबार

जसपाबाट तेस्रो लिंगी बने कीर्तिपुरको मेयर र वडा नं ४ को अध्यक्ष पदको उम्मेदवार

मंसिर १ २०८१, शनिबार

काठमाडौँ । जनता समाजवादी पार्टीले मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा २ जना तेस्रोलिङ्गी महिलालाई उम्मेदवार बनाउने भएको छ । कीर्तिपुर नगरपालिकाको मेयर र वडा नं ४ को अध्यक्षमा तेस्रो लिङ्गीलाई उम्मेदवार बनाउने निर्णय जसपा नेपालले गरेको हो ।

राजनीतिमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको समावेशिता र प्रतिनिधित्वको आवाज उठाउँदै आएको मायाको पहिचान नेपालको पहलमा जसपा नेपालले उम्मेदवारी दर्ताका लागि पार्टीको आधिकारिक पत्र शुक्रबार प्रदान गरेको छ ।

तेस्रो लिङ्गी महिला एवं कीर्तिपुरमा रहेको समर्पण सभ्य समाज नेपालका सचिव हनि महर्जन र स्वयंसेवी मौनी महर्जनले जसपा नेपालबाट उम्मेदवारी दर्ता गर्ने आधिकारिक पत्र बुझेका छन् ।

जसपा नेपालका उपाध्यक्ष विद्युत बज्राचार्यले काठमाडौँ अध्यक्ष विक्रम पौडेल, मायाको पहिचान नेपालका सचिव सुरेन्द्र पाण्डे, नेपालमा दोस्रो पटक भएको मिस्टर गे हेन्डसमका उपाधि विजेता मनिन्द्रसिं दनुवारलाई साथै राखेर हनि र मौनीलाई उम्मेदवार दर्ता गर्ने पार्टीको आधिकारिक पत्र हस्तान्तरण गरे ।

जसपाले उम्मेदवारको पत्र दिएसँगै मायाको पहिचान नेपालले शनिबार बिहान ११ बजे पत्रकार सम्मेलन गरेर उम्मेदवारी घोषणाबारे जानकारी दिन लागेको जनाएको छ । मायाको पहिचान नेपालका सचिव सुरेन्द्र पाण्डेले शनिवार बिहान ११ बजे अनामनगर सिंहदरबारको पूर्वी गेट अगाडि पत्रकार सम्मेलन राखिएको जानकारी दिए ।

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई नेतृत्व र प्रतिनिधित्व गरेर हनि र मौनीले उम्मेदवारी घोषणा गर्ने उनले बताए। हनि तेस्रो लिङ्गी पथप्रदर्शक पनि हुन् । उनी पर्यटक गाइड गर्छिन् ।