• कार्तिक ३० २०८१, शुक्रबार

दार्चुला जिप दुर्घटनाका घाइतेलाई हेलिकोप्टरमार्फत् धनगढी लगियो

कार्तिक ३० २०८१, शुक्रबार

धनगढी । दार्चुलामा जिप दुर्घटना हुँदा घाइते भएका पाँच जनालाई हेलिकोप्टरमार्फत् कैलालीको धनगढी ल्याइएको छ ।
नेपाली सेनाको हेलिकोप्टरमार्फत् सबै ५ जना घाइतेलाई उपचारका लागि धनगढी ल्याइएको हो ।

गोकुलेश्वर अस्पतालले रिफर गरेपछि पाँच जना घाइतेलाई धनगढी पठाइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख तथा प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिए ।

उनका अनुसार जिप दुर्घटनामा घाइते भएका चालक मालिकार्जुन गाउँपालिका–८ का सुनिल जोशी, शैल्यशिखर नगरपालिका–७ का सन्दिप रावल, शैल्यशिखर नगरपालिका–५ बस्ने २२ प्रकाशसिंह डागा, बैतडी जिल्ला डिलाशैनी गाउँपालिका–४ का उत्तम रोकाया र भारतीय नागरिक सोहिन शाहलाई धनगढी पठाइएको छ । उनीहरूमध्ये तीन जनाको धनगढीस्थित निसर्ग अस्पतालमा उपचार भइरहेको छ ।

मालिकार्जुन जात्राबाट गोकुलेश्वर गइरहेको म १ ज ३३८ नम्बरको जिप शुक्रबार बिहान शैल्यशिखर नगरपालिका–६ को बकजेबलामा दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी दाहालका अनुसार, दुर्घटनामा शैल्यशिखर– ५, लेकगाउँका ३० वर्षीय वीरेन्द्र रावल, उनकी श्रीमती २८ वर्षीया शान्ति रावल, शैल्यशिखर–९ का ४५ वर्षीय दिलिप विष्ट, ४५ वर्षीया मिना लेखक, बैतडीको डिलासैनी गाउँपालिका– ५ का १५ वर्षीय सुजित बोहरा र ४५ वर्षीय वीरेन्द्र बोहराको मृत्यु भएको थियो ।

यस्तै, भारतको उत्तर प्रदेश बस्ने मोहम्मद सालिर र मोहम्मद बसिमको घटनास्थलमै मृत्यु भएको थियो । डीएसपी दाहालका अनुसार वीरेन्द्र रावल र मीना लेखकको अस्पतालमा तथा अन्यको घटनास्थलमै मृत्यु भएको हो ।