• मंसिर १२ २०८१, बुधबार

महिलालाई अमानवीय व्यवहार गरेको कसुरमा श्रीमान र सासु पक्राउ

कार्तिक २७ २०८१, मंगलवार

२७ कात्तिक, काठमाडौं । नुवाकोटको ककनी गाउँपालिका–३ चाउथेमा एक महिलालाई अमानवीय व्यवहार गरेको कसुरमा एकै परिवारका चार जनाविरुद्ध प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

चाउथेकी कल्पना अधिकारी बजगाईलाई अमानवीय व्यवहार गर्दै तातोपानी समेत खन्याएको आरोप लागेपछि चार जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय नुवाकोटले अनुसन्धान अघि बढाएको हो ।

घटना १५ कात्तिकको हो । आफूमाथि तातोपानी खन्याएको भन्दै बुहारी कल्पनाले श्रीमान, सासु सीता बजगाईं, ससुरा रामहरि बजगाई र देउरानीविरुद्ध प्रहरीमा जाहेरी दिएकी थिइन् ।

त्यस आधारमा अहिले उनका श्रीमान सिजन बजगाईं र सासु सीतालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको नुवाकोटका डीएसपी तथा प्रवक्ता तिलक भारतीले बताए ।

उनका अनुसार ससुरा र देउरानी फरार रहेकाले उनीहरुको पनि खोजी भइरहेको छ । पक्राउ परेकाहरुविद्ध अमानवीय व्यवहारको कसुरमा अनुसन्धान अघि बढाइएको छ ।