• कार्तिक २९ २०८१, बिहीबार

कालीकोट दुर्घटना : मृतकको संख्या सात पुग्यो

कार्तिक २५ २०८१, आईतवार

कात्तिक २५, काठमाडौं । कालीकोटमा आइतबार भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या सात पुगेको छ । ४६ वर्षीय गाडी चालक धनिराम रावतको कर्णाली प्रदेश अस्पतालमा उपचारका क्रममा मृत्यु भएसँगै मृतकको संख्या सात पुगेको हो ।

कालीकोटको पलाता गाउँपालिका–३ राडुनेटामा भएको दुर्घटनामा पलाता गाउँपालिका–६ की दसकला शाही, सोही ठाउँका पदम बम, भगवती रोकाया र गणेश शाही, पलाता–५ की छाया शाही तथा पलाता–३ का दमन रोकायाको मृत्यु भएको छ ।

यस्तै दुर्घटनामा पलाता–६ का केशव थापा, किशोर थापा, विजय थापा, रिदम शाही, प्रतिक्षा शाही, आशिष रोकाया र भुपेन्द्र रोकाया, पलाता–३ का दानबहादुर रोकाया, निर्मला रोकाया र जगत रोकाया तथा पलाता–५ का दोली विक र आयुशा विक घाइते भएका प्रहरीले जनाएको छ ।

घाइते १२ जनाको उद्धार गरी नेपाली सेनाको हेलिकोप्टरमा उपचारका लागि कर्णाली प्रादेशिक अस्पताल सुर्खेत लगिएको प्रहरीले जनाएको छ । पलाता गाउँपालिका–५ खिनदेखि थिर्पुतर्फ जाँदै गरेको कर्णाली प्रदेश ००१ ज ५६ नम्बरको जिप दुर्घटनामा परेको हो ।