• मंसिर १२ २०८१, बुधबार

कालीकोट जिप दुर्घटनामा परेका सबैको सनाखत

कार्तिक २५ २०८१, आईतवार

कात्तिक २५, काठमाडौं । कालीकोट जिप दुर्घटनामा परेका सबैको सनाखत भएको छ । आइतबार दिउँसो जिल्लाको पलाता गाउँपालिका–५ को खिनबाट थिर्पुतर्फ जाँदै गरेको क १ ज ५६ नम्बरको बोलेरो जिप वडा नम्बर ३ को राडु भन्ने स्थानमा अनियन्त्रित भई दुर्घटनामा परेको थियो ।

उक्त दुर्घटनामा परी ६ जनाको मृत्यु भएको थियो भने १३ जना घाइते भएका थिए । घाइतेहरूको नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरी कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको छ ।

घटनालगत्तै नेपाली सेनाको उत्तर पश्चिम एयरबेस सुर्खेतबाट गएको हेलिकोप्टरले घाइतेहरूको उद्धार गरेको हो ।

मृत्यु हुनेमा पलाता गाउँपालिका– ६ का दसकला शाही, पदम बम, भगवती रोकाया, गणेश शाही, पलाता गाउँपालिका– ५ की छाया शाही र वडा नम्बर ३ का दमन रोकाया रहेका छन् ।

यसैबीच, कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दुर्घटनामा परी घाइते भएकाहरूको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका छन् । कर्णाली प्रदेश अस्पतालमा पुगेर मुख्यमन्त्री कँडेलले घाइतेको अवस्था बुझ्दै उपचारमा कुनै कसर बाँकी नराख्न निर्देशन दिए ।

दुर्घटनामा घाइते भएकामध्ये कालीकोट पलाता– ६ बस्ने केशव थापा, किशोर थापा, विजय थापा, रिदम शाही, प्रतीक्षा शाही, आशिष रोकाया र भूपेन्द्र रोकायाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

त्यस्तै, पलाता गाउँपालिका वडा नम्बर ३ का दानबहादुर रोकाया, निर्मला रोकाया र जगत रोकायाको पनि अवस्था गम्भीर छ । त्यस्तै, सोही गाउँपालिका वडा नम्बर ५ का दोली बिक, आयुशा बिक र चालक धनीराम रावतको अवस्था पनि गम्भीर रहेको बताइएको छ ।