• मंसिर १२ २०८१, बुधबार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक १० घण्टा बन्द हुने

कार्तिक २३ २०८१, शुक्रबार

२३ कात्तिक, काठमाडौं । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक १० घण्टा बन्द गर्न लागिएको छ । धावनमार्ग विस्तार, ट्याक्सी वे, पार्किङ वे लगायतमा काम गर्नुपर्ने भएकाले आजदेखि पाँच महिनासम्म दैनिक १० घण्टासम्म विमानस्थल बन्द गर्न लागिएको हो ।

विमानस्थल कार्यालयका अनुसार २३ कात्तिकदेखि १८ चैतसम्म राति १० बजेबाट बिहान ८ बजेसम्म विमानस्थल बन्द हुनेछ । हाल काठमाडौं विमानस्थल बिहान ६ बजेदेखि राति २ बजेसम्म खुल्ने गरेको छ ।

गर्मीयाममा काम गर्न नसकिने, त्यसैबेला वर्षा पनि हुने भएकाले अहिले कात्तिक महिनादेखि नै विमानस्थल स्तरोन्नतीको काम सुरु गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले जानकारी दिए ।

इन्जिनियर अधिकारीका अनुसार रनवेसँग समानान्तर हुनेगरी ट्याक्सी वे निर्माण गरेर सो विमानस्थलको कार्य क्षमता बढाउन लागिएको हो । प्राधिकरणका अनुसार तीन निर्माण व्यवसायीले धावनमार्गको उतर-दक्षिणतर्फ जोडिएका चारवटा ट्याक्सी-वे भत्काउने, पुनर्निर्माण गर्ने, धावनमार्गसँग जोड्ने, स्तरोन्नति गर्ने, नयाँ एप्रोनसँग जोड्ने लगायत काम गर्नेछन् ।

विमानस्थलको गुरुयोजनाका अनुसार स्तरोन्नतिका लागि हाल १५ अर्ब रुपैयाँ लागतमा तीनवटा फरक-फरक विदेशी निर्माण व्यवसायीहरूले काम गर्दै आएका छन् ।

त्रिभुवन विमानस्थलको एक मात्र धावनमार्गको दुवै बिन्दुमा भइरहेको निर्माण कार्यका कारण गत चैत १९ देखि बौद्धतर्फको उत्तरी बिन्दुबाट जहाज अवतरणमा निषेध गरिएको छ ।

काठमाडौं विमानस्थल रातिको समयमा बन्द हुने भएसँगै वायुसेवा कम्पनीहरूले पनि आफ्नो निर्धारित उडान तालिका परिमार्जन गरेका छन् । स्तरोन्नतिपछि जहाजको आउजाउ तथा ट्राफिकमा धेरै सुविधा हुने विश्वास छ ।