• मंसिर १२ २०८१, बुधबार

अपराध अनुसन्धानमा खटेका प्रहरीका असई र जवान नै छालाकाे पैसा लुटपाटमा संलग्न भएको खुलासा

कार्तिक २२ २०८१, बिहीबार

काठमाडौं । काठमाडौं उपत्यकामा हुने जघन्य र गम्भीर अपराध अनुसन्धानका निम्ति खटिएका उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी नै लुटपाटको घटनामा संलग्न रहेको खुलेको छ ।

कलंकीस्थित एक रेस्टुरेन्टबाट पुरानो खालको लेदरको पैसा लुटपाटमा उक्त कार्यालयका प्रहरी सहायक निरीक्षक (असई) अनबहादुर पुन र प्रहरी जवान धीर बुढाको संलग्नता देखिएको हो ।

उनीहरू दुवैजनालाई महाशाखाको टोलीले पक्राउ गरेर थप अनुसन्धानका निम्ति बुधबार (हिजो) जिल्ला प्रहरी परिसर काठमाडौंलाई बुझाएको छ । काठमाडौं प्रहरी स्रोतका अनुसार, अनुसन्धान कार्यालयको कीर्तिपुर प्रहरी वृत्त (पीसीबी)मा कार्यरत उनीहरूले बिचौलियासँग मिलेर लेदरको पैसा लुटपाट गरेको खुलेको हो ।

पुरानो लेदरको पैसासहित रेस्टुरेन्टमा पुगेका युवकलाई हत्कडी लगाउन उनीहरूले बिचौलियालाई हत्कडी समेत दिएको खुलेको छ । त्यति बेला उनीहरू रेस्टुरेन्टबाहिर बसेका थिए । लेदरको पैसा लिएर आएका युवकसामु देखिएका थिएनन् ।

लेदरको पैसा लुट्न उनीहरूको टोलीले २५ लाख रुपैयाँमा ‘बार्गेनिङ’ गरेको खुलेको छ । पछि लेदरको पैसा लिएर रकम नदिई उनीहरू त्यहाँबाट भागेका थिए ।

लेदरको पैसा लिएर आएका युवक र ती बिचौलिया भने फरार छन् । उनीहरूको खोजी भइरहेको काठमाडौं प्रहरीले जनाएको छ । लुटपाटको घटनाबारे उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा सूचना पुगेपछि अनुसन्धान अघि बढाइएको थियो ।