कात्तिक २१, काठमाडौं । डडेल्धुरामा प्रहरीमाथि नै कुटपिट भएको छ । ड्युटीमा खटिएका प्रहरी सहायक हवल्दार थानेश्वरप्रकाश पन्तमाथि कुटपिट गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रवक्ता प्रहरी निरीक्षक उपेन्द्र बमका अनुसार कञ्चनपुरको भीमदत्त नगरपालिका– ४ बस्ने २२ वर्षीय रोहित सार्कीले चलाएको भारतीय गाडीलाई डडेल्धुराको अमरगढी –५, बागबजार पोस्टमा चेकजाँचका लागि रोकिएको थियो ।
‘चेकजाँच गर्ने क्रममा सोही भारतीय गाडीमा सवार अजयमेरु –४ बस्ने २८ वर्षीय विनोद बैजलगायत पाँच जनाले हातपात गरेका रहेछन्,’ उनले भने, ‘हातपातपछि प्रहरी सहायक हवल्दार पन्तको टाउकोको पछाडिको भागमा चोट लागेको छ ।’
इन्स्पेक्टर बमका अनुसार भारतीय गाडीचालक रोहित सार्की र विनोद बैजलाई घटनास्थलबाटै पक्राउ गरिएको छ भने घटनामा संलग्न अन्य तीन जनाको खोजी गर्ने क्रममा अजयमेरु–४, चिपुर बस्ने २६ वर्षीय पदम चटौतलाई उनकै घरबाट, २३ वर्षीय सुवास बोहरा र २७ वर्षीय जित ऐरलाई अमरगढी– ५, बागबजारबाट पक्राउ गरिएको छ ।
उनीहरूलाई सार्वजनिक सुरक्षा हित, स्वास्थ्य र नैतिकविरुद्धको अपराधमा सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।