१७ कात्तिक, जनकपुरधाम । महोत्तरीको भंगहामा हतियारधारी समूहको आक्रमणमा एकजना घाइते भएका छन् । घाइते हुनेमा भंगहा नगरपालिका -४ रामनगरविर्ताका ४५ वर्षीय रामबाबु महतो छन् ।
उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी सन्तुलाल जयसवारले जानकारी दिए । डिएसपी जयसवारका अनुसार आज बिहान ५ बजे उनीमाथि तीनजनाको हतियारधारी समूहले आक्रमण गरेका हुन् ।
तरबारको आक्रमाणले शरीरको दुई ठाउमा घाउ लागेको छ । उनी स्थानीय चिया पसले हुन् । चिया पसल खोलिरहेको बेला अचानक उनीमाथि आक्रमण भएको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् ।
घटनास्थलाटबाट एउटा मोटरसाइकल, तरबारको खोल बरामद भएको छ । मोटरसाइकलमा आएका हतियारधारीले अचानक तरबार प्रहार र एक राउन्ड गोली समेत प्रहार गरेको प्रत्यक्षदर्शीले दाबी गरेका छन् । यद्यपि गोली उनलाई नलागेको स्थानीयको दाबी छ ।
गोली चलेको कुरा एकिन नभएको र बुझ्ने काम भइरहेको डिएसपी जयसवारको भनाइ छ । आक्रमण गर्नेहरु गाउँकै तीनजना रहेको पहिचान भएको उनीहरुको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।