काठमाडौं । काठमाडौं उपत्यकामा सुरक्षा निकायको कडा निगरानीकाबीच पटका पड्किने क्रम भने यो तिहारमा रोकिएको छैन ।
काठमाडौंको मुख्य मार्गभन्दा भित्री तथा काठ क्षेत्रमा अत्यधिक रुपमा पटका पड्किएका छन् । बिहीबार लक्ष्मीपूजाको साँझदेखि नै पटका पड्काउने क्रम बढेको र आज पनि सो क्रम जारी छ ।
लगातार पटका पड्काउँदा नागरिकमा ध्वनी प्रदूषणसमेत भएको छ । आगलागीको जोखिम बढेको चन्द्रागिरी निवासी शरण शर्माले बताए ।
सुरक्षा निकायले मुख्य मार्ग तथा काठमाडौंको ‘कोर’ क्षेत्रमा उपस्थिति देखिए पनि भित्री सडकहरुमा न्यून रुपमा मात्रै गस्ती भइरहेको पनि छ ।
नेपाल प्रहरीले भने पटका तथा विष्फोटक पदार्थ नियन्त्रणमा उपत्यकाका १० वटै नाकामा सुरक्षा निगरानी बढाइएको तथा विभिन्न क्षेत्रमा जाँच अभियान तीव्र भइरहेको दाबी गरेको छ ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता दानबहादुर कार्कीले तिहारमा जुवातास तथा पटकाजन्य पदार्थको प्रयोग बढी हुने भएकाले पनि त्यसलाई केन्द्रित गरेर सुरक्षा निगरानी बढाइएको बताए । प्रहरीलाई छलेर यस्ता गतिविधि छिटफुट घटना भएमा पक्राउ गर्ने र कारबाही गर्ने गरिएको प्रहरीले जनाएको छ ।
पटका नियन्त्रण अभियानकै क्रममा त्यस्ता व्यक्तिलाई पक्राउ गरी उपत्यकामा मुद्दासमेत चलाइएको छ । विष्फोटक पदार्थसम्बन्धी कसुर आकर्षित हुने भएकाले यस्ता गतिविधि गर्नेहरुलाई सोहीअनुसार मुद्दा चलाइएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।
यसपटक नेपाल प्रहरीले देशभर ४८ हजारभन्दा बढी सुरक्षाकर्मी तिहार सुरक्षामा खटाएको छ । काठमाडौं उपत्यकामा मात्रै दैनिक पाँच हजार सुरक्षाकर्मी तिहार सुरक्षाकै लागि परिचालन भइरहेका छन् ।
काठमाडौं उपत्यका प्रहरीले उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर)का लागि एकीकृत रुपमा चाडपर्व सुरक्षा योजना लागु गरी निगरानी बढाएको छ ।