• मंसिर १२ २०८१, बुधबार

विद्युत महसुल बुझाइसकेका ग्राहकको लाइन तत्काल जोड्न प्राधिकरणलाई निर्देशन

कार्तिक १४ २०८१, बुधबार

कात्तिक १४, काठमाडौं । विद्युत नियमन आयोगले महसुल बुझाइसकेका ग्राहकको विद्युत् लाइन तत्काल जोड्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ । आयोगले प्राधिकरणलाई आज एक पत्र पठाउँदै यस्तो निर्देशन दिएको हो ।

‘नेपाल सरकार (मन्त्रिपरिषद्) को मिति २०८१।०१।२७ को निर्णयमा उल्लेख भएको २०७२ माघदेखि २०७५ वैशाखसम्मको अवधिको विवादित डेडिकेटेड फिडर र टुङ्कलाइनको बक्यौता विद्युत महसुलको हकमा मात्र सम्बन्धित उपभोक्ताबाट आवधिक रूपमा असुलर फरफारक गर्ने गरी तहाँ प्राधिकरणबाटै उपयुक्त अनुपातमा रकम तोकिदिने र यसअघि महसुल नबुझाएको कारणबाट लाइन काटेको भए तापनि सम्बन्धित ग्राहकले त्यस्तो आवधिक रकम बुझाएपछि तत्कालै विद्युत लाइन जोडिदिने’, आयोगले प्राधिकरणलाई पठाएको पत्रमा उल्लेख छ ।

यसैगरी आयोगले उक्त विद्युत महसुलको परिमाण वा अन्य कुनै पक्षउपर पछि कुनै आधिकारिक निकायबाट जाँचबुझ भई रकम फरक परेको पुष्टि भएमा उक्त रकम असुल भइसकेको भए पनि त्यसपछिका बिलमा समायोजन गर्न पनि निर्देशन दिएको छ ।