• मंसिर ११ २०८१, मंगलवार

कम्युनिस्ट आन्दोलनको रुपान्तरणका लागि गम्भीर आत्मसमीक्षा आवश्यकः प्रचण्ड

कार्तिक १४ २०८१, बुधबार

कात्तिक १४, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट आन्दोलनको एकता र रूपान्तरणका लागि गम्भीर आत्मसमीक्षा आवश्यक रहेको बताएका छन् ।

नेकपाका संस्थापक नरबहादुर कर्माचार्यको जन्म शताब्दीको अवसरमा माओवादी केन्द्र, केन्द्रीय कार्यालयले आज काठमाडौंमा आयोजना गरेको ‘नेपाली कम्युनिस्ट आन्दोलनको ७५ वर्ष र आगामी कार्यभार’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् ।

त्यस्तो आत्मसमीक्षा तीन तहमा हुनुपर्ने उल्लेख अध्यक्ष प्रचण्डले भने, ‘कम्युनिस्ट आन्दोलनमा लागेका हरेक नेता कार्यकर्ताले आफैँभित्र आत्मसमीक्षा गरौँ । हरेक पार्टीभित्र इमान्दार आत्मसमीक्षा गरौँ । अनि बल्ल कम्युनिस्ट पार्टीहरूको बीचमा आत्मसीक्षा गरौँ ।’

हरेक कम्युनिस्ट नेता कार्यकर्ता र पार्टीहरूले क्रान्तिलाई किन सही रूपले अघि बढाउन सकेनौँ र आम मानिसमा निराशा बढिरहेको भन्ने समस्याको पहिचान गर्न अब भाषण गरेर मात्र होइन, आत्ममीक्षालाई संघर्षकै रूपमा अघि बढाउनुपर्ने उनले स्पष्ट गरे ।

क्रान्तिकारीहरूले आफ्नो गल्ती स्वीकार गर्न सक्नुपर्ने उल्लेख गर्दै अध्यक्ष प्रचण्डले आत्मसीक्षाले मात्रै कम्युनिस्ट पार्टीहरूमा एकता, रूपान्तरण र नयाँ क्रान्तिको प्रक्रिया सुरु हुने बताए ।

कम्युनिस्ट नेता कार्यकर्ताहरूमा सिद्धान्त, विचार र कार्यशैली, आचरणको बीचमा ठूल्ठूला खाडल देखापर्दै गएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले सिद्धान्त र व्यवहारको अन्तर्विरोध हल गर्नतिर जोड दिएर लाग्नुपर्ने बताए ।

कम्युनिस्टहरूको नेतृत्वमा नेपालमा विश्वलाई चकित पार्ने राजनीतिक उपलब्धि प्राप्त भएको उल्लेख गर्दै उनले अब नयाँ समाजवादी क्रान्तिका लागि धेरै काम गर्न बाँकी रहेको र त्यसको प्रस्थानविन्दु वैचारिक स्पष्टता नै हुनुपर्ने बताए ।