• कार्तिक १२ २०८१, सोमबार

निर्मला कुर्मीलाइ न्याय माग्दै कांग्रेस पार्टी कार्यालय अगाडि प्रदर्शन

कार्तिक १२ २०८१, सोमबार

१२ कात्तिक, काठमाडौं । नेपालगञ्जकी निर्मला कुर्मीको न्याय माग्दै अधिकारकर्मी रुबी खान नेतृत्वको समूहले सत्तारुद्ध नेपाली कांग्रेसको सानेपास्थित पार्टी कार्यालय अगाडि प्रदर्शन गरेको छ ।

खानसहितका महिलाहरुले ८१ दिनदेखि माइतीघर मण्डलामा प्रदर्शन गर्दै आएका थिए । तर, सुनुवाइ नभएको भन्दै उनले सत्तारुद्ध दल कांग्रेसको केन्द्रीय कार्यालय अगाडि प्रदर्शन थालेकी हुन् ।

‘आज साँझ ५ बजेसम्म धर्ना दिने र निर्मला कुर्मीको न्यायका लागि ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम छ’, उनले भनिन्, ‘सरकारले न्याय नदिएसम्म आन्दोलन गरिरहन्छौं ।’

निर्मला कुर्मी बेपत्ता प्रकरणको अनुसन्धानलाई लिएर सरकारले उनीसँग चार पटक वार्ता र सहमति गरिसकेको छ ।

गृह मन्त्रालयले बनाएको छानबिन समितिले कांग्रेसबाट प्रदेशसभामा निर्वाचित सांसद् बादशाह कुर्मीलाई शंकास्पद मान्दै थप अनुसन्धान हुनुपर्ने भनेको छ ।

प्रहरीले यो मामलामा लामो समयदेखि अनुसन्धान गरिरहेको बताए पनि अदालतमा मुद्दा पुगेको छैन ।

‘हाम्रो माग पनि प्रहरीले सरकारी वकिल र सरकारी वकिलले अदालतमा मुद्दा टेकाइदियोस् भन्ने हो’ खानले भनिन्, ‘यही विषयमा कांग्रेस नेताहरुलाई हामी ध्यानाकर्षण पत्र पनि बुझाउनेछौं ।’