काठमाडौँ । माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी ओलीले ललिता निवास काण्डका दोषीलाई उन्मुक्ति दिएको आरोप लगाएका छन् । शनिवारको खबरदारी सभामा बोल्दै उनले यस्ते आरोप लगाएका हुन् ।
उनले भने– ‘ललिता निवास काण्डमा हाम्रो नेतृत्वको सरकारले सङ्गठित अपराध, किर्ते र ठगीको दायर गरेको मुद्दा अदालतमा छ । जसलाई अख्तियारले दायर गरेको मुद्दा अदालतमा छ । विशेष अदालतले २ वर्ष कैद र जरिवानाको फैसला गरेको छ । सर्वोच्च अदालतमा मुद्दा विचाराधीन भएको, कर छलीको मुद्दा अदालतमा विचाराधीन छ, देशको प्रधानमन्त्रीले एउटा अदालतले दोषी ठहर गरिसकेको र सर्वोच्चमा विचाराधीन मुद्दाको बारेमा संलग्न भएको व्यक्तिलाई सफाइ दिन मिल्छ कि मिल्दैन ? यही हो कानुनी शासन ? म प्रश्न गर्न चाहन्छु के हो कानुनी शासन भनेको ? यो सैह्य हुँदैन ।’
उनले हालै भएको विपदको अवस्थामा बाढी पहिरोमा परेका नागरिकलाई उद्धार र राहत दिन नसकेको बताए । अहिले सरकार भ्रष्टाचारीलाई जोगाउन लागेकोले त्यसका लागि खबरदारी सभा गरेको बचाउँदै उनले अझै सङ्घर्षका कार्यक्रम घोषणा गर्न बाँकी रहेको उल्लेख गरे ।