• कार्तिक ९ २०८१, शुक्रबार

विपक्षी नेतालाई मात्रै कारवाही गरेर आफ्ना नेतालाई जोगाइयो : माओवादी केन्द्र

कार्तिक ८ २०८१, बिहीबार

काठमाडौं । माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले सरकारले विपक्षी दलका नेताहरू केन्द्रित कारबाही गरिरहेको बताएका छन् ।

पेरिसडाँडामा बिहीबार भएको पत्रकार सम्मेलनमा उनले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको बेलामा कसैलाई पक्षविपक्ष नभनी कारबाही गरिएको भए पनि अहिलेको सरकार विपक्षी दलका नेताहरूलाई मात्रै लक्षित गरेर कारबाही गरिरहेको दाबी गरे ।
विपक्षी नेताहरूलाई छानीछानी मुद्दा लगाउने र जेल हाल्ने काममा सरकारकेन्द्रित भएको उनको भनाइ छ ।

‘यो सरकार र हाम्रो नेतृत्वमा बनेको सरकारको बीचमा के फरक छ भन्दा हाम्रो पार्टीले कानून र प्रमाणले भेटेसम्म जसलाई पनि कारबाही गरे हुन्छ भनेर दोषी कोही पनि नछुटुन् र निर्दोष कोही पनि नपरुन् भन्ने मान्यताका आधारमा कारबाही गरेको थियो,’ उनले भने, ‘अहिले तपाईंहरूले देख्नुभएको छ, अहिलेको सरकारले विपक्षी दलका नेताहरूलाई, विपक्षी दलका व्यक्तिहरूलाई छानीछानी मुद्दा लगाउने, जेल हाल्ने गरेको छ भने आफ्ना नेताहरूलाई जोगाइरहेको छ ।’

कांग्रेस उपसभापति धनराज गुरूङ र एमाले नेता ऋषिकेश पोखरेल लगायतलाई प्रमाण हुँदा पनि सरकारले कारबाही नगरी संरक्षण गरिरहेको उनको भनाइ छ । उनले सरकारलाई खबरदारी गर्न कात्तिक १० गते काठमाडौंमा खबरदारी सभा गर्न लागिएको पनि बताए ।