• कार्तिक ६ २०८१, मंगलवार

भीम रावल, विन्दा पाण्डे र उषाकिरण तिमिल्सिनालाई कारवाही गर्दै एमाले

कार्तिक ६ २०८१, मंगलवार

६ कात्तिक, काठमाडौं । नेकपा एमालेले पार्टी केन्द्रीय भवन दानमा स्वीकार्ने निर्णयविपरीत बोल्ने नेताहरुलाई स्पष्टीकरणपत्र पठाएको छ । महासचिव शंकर पोखरेलले ७ दिनभित्र लिखित जवाफ पेश गर्न स्पष्टीकरण पत्र पठाएका हुन् ।
आइतबार साँझ बसेको सचिवालय बैठकले पूर्वउपाध्यक्ष भीम रावल, स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमिल्सिनासँग स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

सचिवालयको निर्णय बमोजिम महासचिव पोखरेलले पार्टीको निर्णय विपरीत टिप्पणी गर्नुको कारण सोधेका छन् । ‘‘विधानको धारा ८१ बमोजिमको कारबाही किन गर्नु नपर्ने हो ? सोको आधार र कारण सहित सात (७) दिनभित्र स्पष्टीकरण पेश गर्न अनुरोध छ’, स्पष्टीकरण पत्रमा भनिएको छ ।

एमाले विधानको धारा ८१ मा पार्टी निर्णय पालना नगर्ने नेताहरुलाई लिलम्बन गर्ने, जिम्मेवारीबाट हटाउने अथवा निष्कासनसम्मको कारबाही गर्न सकिने व्यवस्था छ ।

पाण्डे र तिमिल्सिनाले व्यवसायी मीनबहादुर गुरुङबाट दानमा केन्द्रीय कार्यालय स्वीकार्ने पार्टी निर्णयप्रति विमति जनाएका थिए । पूर्वउपाध्यक्ष रावललाई भने यो निर्णय विपरीत बोल्ने मात्र नभएर विगत लामो समयदेखि अलग गतिविधि गरेको आरोप लगाइएको छ ।