• कार्तिक ६ २०८१, मंगलवार

क्रिप्टोकारोबारीसँग रकम असुली घटनामा दुई प्रहरीसहित तीन जनाविरूद्ध मुद्दा दर्ता

कार्तिक ६ २०८१, मंगलवार

काठमाडौं, कात्तिक ६ । क्रिप्टोकारोबारीलाई छाड्न आरोपितकै परिवारसँग रकम असुल गरी छाडेको घटनामा जिल्ला प्रहरी परिसर काठमाडौंका दुई जना प्रहरीसहित तीन जनाविरूद्ध मुद्दा दर्ता भएको छ ।

सोमबार काठमाडौं जिल्ला अदालतमा तीन जनालाई प्रतिवादी बनाएर ठगी तथा आपराधिक विश्वासघात कसुरमा मुद्दा दर्ता भएको हो ।

प्रहरी हवल्दार गणेश खड्का र प्रहरी जवान साजन शर्मा परिसरको हिरासतमा छन् । अर्का प्रतिवादी तेजबहादुर तामाङ भने फरार छन् ।

५० लाख असुल गर्ने व्यक्ति तेजबहादुर तामाङलाई प्रहरीले मुख्य अभियुक्त बनाएर प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।

तामाङले आरोपित व्यक्तिलाई नियन्त्रणमा लिन प्रहरीको प्रयोग गरी परिवारसँग ५० लाख रुपैयाँ असुल गरेको खुलेको थियो ।

तामाङ र प्रहरी हवल्दार खड्काबीचको मिलेमतोमा घटना भएको आशंकामा प्रहरी परिसरले सुरूमा आन्तरिक छानबिन थालेको थियो ।

पछि काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले एसपी प्रजित केसी नेतृत्वमा छानबिन समिति बनाएको थियो ।

उक्त समितिले पनि दुई जना प्रहरी र तामाङबीचको संलग्नतामा ठगी घटना भएको भन्दै कारबाही गर्न सिफारिस गरेको थियो ।

तर उक्त समितिले प्रहरीले रकम लिएको आधार भने भेटाएको थिएन । यस्तै नियन्त्रणमा रहेका दुबै प्रहरीले घटनामा रकम असुली नगरेको र त्यसबारे आफूलाई थाहा नभएको पनि बयान दिएका छन् ।