• कार्तिक ६ २०८१, मंगलवार

जोशीको बयान चलिरहँदा भैरहवामा सुप्रिम सहकारीपीडितहरूको विरोध प्रदर्शन

कार्तिक ६ २०८१, मंगलवार

कात्तिक ६, काठमाडौं । सहकारीपीडितहरूले रुपन्देही जिल्ला अदालतअगाडि विरोध प्रदर्शन गरेका छन् । रुपन्देहीको बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेडका बचतकर्ताहरूले मंगलबार अदालतअगाडि विरोध प्रदर्शन गरेका हुन् ।

सुप्रिमपीडित संघर्ष समितिमार्फत विरोध प्रदर्शन गरिएको हो । सुप्रिम सहकारी ठगी प्रकरणमा गोर्खा मिडिया नेटवर्कका उपाध्यक्ष एवं पूर्वडीआईजी छविलाल जोशीसँग भैरहवास्थित जिल्ला सरकारी वकिलको कार्यालयमा बयान सुरु भएको छ ।

सरकारी वकिल कार्यालयमा बयान भइरहँदा पीडितले अदालत अगाडि प्रदर्शन गरेका हुन् । उनीहरूले सुप्रिमको बुटवल शाखा व्यवस्थापक सागर केसी र सहकारीका अध्यक्ष गितेन्द्रबाबु राई (जीबी) लाई राजनीतिक संरक्षणमा भगाइएको आरोपसमेत लगाएका छन् ।

अदालतअगाडि विरोध प्रदर्शन गरिरहेका पीडित सरकारी वकिल कार्यालयअगाडि जान खोज्दा प्रहरीले रोकेको छ । वडा प्रहरी कार्यालय भैरहवाका प्रमुख प्रहरी निरीक्षक नेत्र बुढाले प्रहरी अनुसन्धान सुरु गरिरहेको भन्दै विरोध प्रदर्शन नगर्न आग्रह गरेका थिए । त्यसपछि पीडितले अदालतअगाडि नै प्रदर्शन गरेका हुन् ।

बचत रकम फिर्ता गर, हाम्रो रगत–पसिनाको कमाइ फिर्ता गर, सहकारी ठगी बन्द गर, दोषीलाई कारबाही गर, सागर केसीलाई पक्राउ गर, जीबी राईलाई पक्राउ गरलगायतका प्लेकार्ड बोकेर पीडितले विरोध गरेका हुन् । उनीहरूले रवि लामिछाने, छविलाल जोशी र जीबी राईलाई राजनीतिक संरक्षण भएको समेत आरोप लगाएका छन् ।

सुप्रिम पीडित संघर्ष समितिका संयोजक विजय नेपालले न्याय, रकम फिर्ता र सहकारीको रकम अपचलन गर्नेलाई कारबाहीको माग गर्दै प्रदर्शन गरिएको जनाए ।