• कार्तिक ५ २०८१, सोमबार

पूर्व गृहमन्त्री रवि लामिछानेको बयान सुरु

कार्तिक ५ २०८१, सोमबार

५ कात्तिक, काठमाडौँ । पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग बयान लिन थालिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसन्धान अधिकृत र सरकारी वकिलले उनीसँग बयान लिन थालेका हुन् ।

कानुनी प्रक्रिया अनुसार बयान लिने काम सुरु भएको कास्कीका एसपी श्यामबाबु ओलियाले बताए । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने कार्तिक २ मा पार्टी मुख्यालय वनस्थलीबाट पक्राउ परेका हुन् ।

कास्की जिल्ला अदालतका न्यायाधीश नवराज दाहालले उनलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएका छन् ।

उनीबिरुद्ध सुर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीवी) राईसँग मिलेर लामिछाने सो सहकारीको रकम अपचलन गरेको आरोप छ ।

जीवी राई, पूर्व डीआईजी छविलाल जोशी र लामिछाने मिलेर गोर्खा मिडिया नेटवर्कमार्फत टेलिभिजन सञ्चालन गरेका थिए ।

गोर्खा मिडिया नेटवर्कमा पाँच वटा सहकारीबाट ६५ करोड ५४ लाख अवैध तरिकाले आएको सूर्य थापा नेतृत्वको संसदीय छानबिन समितिको निष्कर्ष छ ।

लामिछाने गोर्खा मिडियाका निर्देशक थिए । गोर्खा मिडियामा आएको रकम लामिछानेले खर्च गरेका हुन् ।
रकम अपचलनमा संलग्न आरोपमा पूर्व डीआईजी छविलाल जोशी असोज ६ मा पक्राउ परेका थिए ।