• मंसिर १३ २०८१, बिहीबार

मनाङमा लेक लागेर एक जना विदेशी पर्यटकको मृत्यु

कार्तिक ४ २०८१, आईतवार

कात्तिक ४, काठमाडौं । मनाङको ङिस्याङ गाउँपालिकामा लेक लागेर एक जना विदेशी पर्यटकको मृत्यु भएको छ ।

ङिस्याङ–३, याकखर्कमा टेन्टमा बसिरहेका स्वीट्जरल्यान्डका नागरिक ६३ वर्षीय मार्कुस सेसलरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उनको चुलु फरेष्ट जाने क्रममा टेन्टमा बसेको समयमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेन्द्रबहादुर केसीले जानकारी दिए ।  राति सकुशल सुतेका सेसलर बिहान नउठेपछि लेक लागेर मृत्यु भएको अनुमान गरिएको उनले बताए ।

‘लेक लागेर मृत्यु भएको छ भन्ने खबर बिहान सुरक्षामा खटिएका गार्ड कर्मा शेर्पामार्फत प्राप्त भएको हो,’ प्रहरी निरीक्षक केसीले भने, ‘सूचना प्राप्त भएलगत्तै घटनास्थलबाट हेलिकोप्टरमार्फत शव काठमाडौं पठाउने तयारी भइरहेको छ ।’ उनले १० विदेशी र २३ जना नेपाली नागरिकको उद्धार गरिएको पनि बातए ।