• कार्तिक ३ २०८१, शनिबार

माओवादी पार्टीहरू बीचको एकतालाई चाँडै टुंगोमा पुर्याउने प्रचण्डको दाबी

कार्तिक ३ २०८१, शनिबार

चितवन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी पार्टीहरूको एकतालाई चाँडै टुंगोमा पुर्याउने दाबी गरेका छन् ।

माओवादी केन्द्रले चितवनको भरतपुर १३ मा बेपत्ता यौद्धा दण्डपाणि न्यौपाने स्मृति भवन निर्माणार्थ आयोजना गरेको वृहत् जनसांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले एउटै स्कुलिङबाट आएर अहिले विभिन्न भंगालोमा रहेका माओवादीहरु एकताबद्ध हुँदै समाजवादी क्रान्तिको तयारीमा लाग्नुपर्ने बेला आएको बताए ।

आफूहरु शान्ति सम्झौतामा आउँदा गणतन्त्रमा जाने सहमति भए पनि त्यसलाई जनताको गणतन्त्र बनाउने वा दलालहरुको गणतन्त्र बनाउने भन्ने विषयमा कुनै विन्दुमा पुगेर संघर्ष हुन्छ भन्ने विश्लेषण गरिएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अब त्यो विन्दु आएको उल्लेख गरे ।

अध्यक्ष प्रचण्डले जनतालाई एकताबद्ध गराउँदै समाजवादी क्रान्ति पूरा गर्ने बताए । उनले पछिल्लोपटक आफूले सरकारको नेतृत्व गर्दा शहीदको नामावली राजपत्रमा प्रकाशन, ‘जनयुद्ध’लाई राष्ट्रिय दिवस घोषणा र शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउने लगायतका ऐतिहासिक काम गरिएको बताए ।

नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले माओवादी एकताबद्ध भए चौसट्ठी साल दोहोरिने बताए ।