• कार्तिक ३ २०८१, शनिबार

महिला स्वास्थ्य स्वयंसेविकाले कामका क्रममा निःशुल्क सार्वजनिक यातायात चढ्न पाउने

कार्तिक २ २०८१, शुक्रबार

काठमाडौं । महिला स्वास्थ्य स्वयंसेविकाहरूले आफ्नो कामका लागि निःशुल्क सार्वजनिक यातायात चढ्न पाउने भएका छन् । स्वास्थ्य प्रयोजनका लागि काममा हिँडेका महिला स्वास्थ्य स्वयंसेविकाबाट यातायात व्यवसायीहरूले सार्वजनिक यातायातका साधनमा भाडा नलिन सहमति गरिएको हो ।

स्वास्थ्य मन्त्रालयले सार्वजनिक यातायात व्यवसायीसँग गरेको समझदारी अनुरूप यही कात्तिक १५ बाट स्वयंसेविकाले निःशुल्क सेवा पाउनेछन् । केही समयअघि स्वास्थ्यमन्त्री प्रदीप पौडेलले यातायात व्यवसायी राष्ट्रिय महासंघसँग न्यून सुविधामा मातृशिशु तथा समुदायको स्वास्थ्य सेवाका लागि लामो समयदेखि प्रयत्नरत रहेका स्वयंसेविकालाई कामका सिलसिलामा हुने यातायात निःशुल्क गरिदिन आग्रह गरेका थिए । सोहीअनुरूप महासंघको सहमतिपश्चात् शुक्रबार मन्त्रालयमा यससम्बन्धी समझदारी भएको हो ।

मन्त्रालयसँग महासंघले गरेको प्रतिबद्धतामा सामाजिक उत्तरदायित्व अन्तर्गत सम्बन्धित तह रहेको जिल्लाभर तोकिएको जिम्मेवारी पूरा गर्न सार्वजनिक यातायातका साधनमा प्राथमिकता दिएर निःशुल्क आवतजावत गर्न दिने उल्लेख छ । यसका लागि महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको पोसाकमा वा परिचयपत्र बोकेको हुनुपर्ने महासंघले उल्लेख गरेको छ ।

‘महिला स्वास्थ्य स्वयंसेविकाहरूले देशको स्वास्थ्य क्षेत्रमा पुर्‍याएको भूमिकालाई सम्मान गर्न यो निणर्य महत्त्वपूणर् छ,’ मन्त्री पौडेलले भने, ‘आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्वअन्तर्गतको यो सहयोगका लागि यातायात व्यवसायी राष्ट्रिय महासंघप्रति आभार व्यक्त गर्दछु ।’

महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले आफूहरूलाई मन्त्री पौडेलले विगतदेखि नै निःशुल्क सुविधाका लागि गरेको आग्रहअनुसार सामाजिक उत्तरदायित्व अन्तर्गत सुविधा उपलब्ध गराउने घोषणा गरेको बताए । यस्तै, महिला स्वास्थ्य स्वयंसेविकाहरूको छाता संस्थाकी अध्यक्ष वसन्ती महर्जनले निकै महत्वपूणर् निणर्य भएको भन्दै यसका लागि मन्त्री पौडेल र व्यवसायी महासंघप्रति आभार प्रकट गरेकी छिन् । हाल देशभर ५२ हजारभन्दा बढी महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरू कार्यरत छन् ।