• कार्तिक ३ २०८१, शनिबार

दाङमा मिटरव्याजी दुर्गाप्रसाद पन्थलाई नेकपा बहुमतको कालोमोसो र जुत्ताको माला {भिडियाेसहित}

आश्विन २९ २०८१, मंगलवार

घोराही । दाङमा एकजना मिटरव्याजीलाई कालोमोसो दलेर जुत्ताको माला लगाइएको छ । धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमतले) दाङका मिटरव्याजी, सुदखोर र करछली लगायतका आरोप लगाउँदै दुर्गाप्रसाद पन्थलाई कालोमोसो दलेको हो । सो पार्टीका दाङको तर्फबाट अम्मरको नामबाट एक विज्ञप्ति जारी गर्दै पन्थलाई कालोमोसो दली जुत्ताको माला लगाइएको जानकारी दिइएको छ ।

विज्ञप्तिमा आफ्नो पार्टीको लडाइँ सबै खाले शोषण, दमन, उत्पीडिन, हत्या, हिंसा र लुटपाटको संरक्षण गरिरहेको राष्ट्रविरोधी दलाल पूँजीवादी संसदीय व्यवस्था कै विरुद्ध रहेको र जनविरोधी व्यवस्थाको आडमा जनतामाथी शोषण गर्ने हरेक पात्र, प्रवृत्ति, संस्था र संगठनका विरुद्ध सशक्त प्रतिरोध र प्रतिवाद गर्दै जनसंघर्षको अभियान अगाडि बढाउने सन्दर्भमा पटकपटक सल्लाह, सुझाव र चेतावनी दिँदासमेत अटेर गरि जनतालाई मिटरब्याजमा पैसा लगाएर लुटको धन्दा चलाएर सयौं जनताको जीवन बर्बाद पारिदिने सुदखोर तथा मिटरब्याजी दुर्गाप्रसाद पन्थलाई जनकारबाही गर्न हाम्रो पार्टी बाध्य भएको जनाइएको छ ।

पन्तलाई कारबाही गर्नुका कारणमा उनी मिटरव्याजीको नाइके र नामुद सुदखोर भएको, जाली तमसुक कागज चेक लिएर जनतालाई सास्ती दिएको, चक्रीय व्याज दर लगाइ जनतालाई बेघरबार बनाएको, वित्तीय आतंक मच्चाएको, अवैध ढंगले अकुत सम्पत्ति जोडेको र राजस्व छली गरेको जस्ता आरोपहरु पन्थलाई लगाइएको छ ।

साथै विज्ञप्तिमा निज पन्थको सम्पतीको श्रोत र सम्पत्तिलाई शुद्धीकरणको कानुनी दायरामा लिन राज्यको निकायलाई अनुरोध पनि गरिएको छ ।