• मंसिर १३ २०८१, बिहीबार

कोहलपुरमा फेला पर्यो टाउको बिनाको शव

आश्विन २७ २०८१, आईतवार

दाङ, असोज २७ ।  बाँकेको कोहलपुरमा एक युवकको टाउको बिनाको शव फेला परेको छ । कोहलपुर नगरपालिका वडा नम्बर ८ मा स्थानीय ४० वर्षीय चन्द्रबहादुर कामीको टाउको बिनाको शव फेला परेको बाँकेका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक यामबहादुर बुढा मगरले बताए ।

मगरका अनुसार आइतबार बिहान पौने २ बजेतिर टाउको बिनाको शव फेला परेपछि अनुसन्धान गर्दै जाँदा बिहान मात्रै हत्या गरिएका व्यक्तिको पहिचान खुलेको बताए । सूचना पाए लगतै घटनास्थलमा खटिएर अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

इलाका प्रहरी कार्यालय कोहलपुरका निमित्त प्रमुख प्रहरी निरीक्षक राजकुमार भट्टले बंगलाटोल भित्री सडक खण्डअन्तर्गत सरस्वती टोल नजिकै टाउको बिनाको शव फेला परेको र थप अनुसन्धान भइरहेको बताए ।

प्रहरी निरीक्षक भटट्का अनुसार हत्या गरिएका व्यक्ति सामान्य मजदुरी गरी जीवन यापन गर्दै आएको खुलेको छ ।

‘जसले जे काम लगाउँछ सोही काम गरिदिने र सामान्य रुपमा जीवन यापन गर्दै आएका उनको वीभत्स हत्या भएको छ । हामी सूक्ष्म तरिकाले अनुुसन्धान गरिरहेका छौं,’ उनले बताए ।

दसैंको टीकाको दिन राति उनको हत्या भएको अनुमान प्रहरीले गरेको छ । घटनास्थलदेखि झण्डै दुई सय मिटर टाढाको सिसी टिभी क्यामेराममा एक जना व्यक्तिले कालो पोलिथिनको झोला बोकेर हिँडिरहेको दृश्य फेला परेको छ ।

ती व्यक्ति को हुन र उनले कालो पोलिथिनको झोलामा के बोकेर हिँडेका थिए भनेर अनुसन्धान केन्द्रित गरेको प्रहरी स्रोतले जानकारी दियो । आवश्यक प्रक्रिया पूरा गरी प्रहरीले शव पोष्टमर्टमका लागि भेरी अस्पताल नेपालगञ्जमा पठाएको छ ।