• मंसिर १३ २०८१, बिहीबार

राष्ट्रपति पौडेलद्वारा विजया दशमीको टीका ग्रहण

आश्विन २६ २०८१, शनिबार

२६ असोज, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले ९४ वर्षिया दाजु डुण्डीराज पौडेलबाट शुभसाइतमा यस वर्षको दशैँको टीका, प्रसाद, जमरा र आर्शिवाद ग्रहण गरेका छन् । सोही अवसरमा राष्ट्रपति पौडेलले गुरु पुरोहितबाट पनि दशैंको टीका, जमरा र प्रसाद ग्रहण गरे ।

राष्ट्रपति कार्यालय शीतल निवासमा शनिबार बिहान राष्ट्रपति पौडेलले यस वर्षको दशैंको शुभ साइत ११ बजेर ३६ मिनेटमा टीका र जमरा ग्रहण गरेका हुन् ।

सोही अवसरमा राष्ट्रपति पौडेलले आफूले टीका ग्रहण गरेपछि प्रथम महिला सबिता पौडेलसहित परिवारका सदस्यलाई पनि शुभसाइतमा टीकाजमरा लगाइदिएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

विजया दशमीका उपलक्ष्यमा आजै दिउँसो राष्ट्रपति पौडेलले ३ देखि ३ः३० बजेसम्म विशिष्ट व्यक्तित्व र ३ः३० देखि ५ बजेसम्म सर्वसाधारणलाई टीकाजमरा लगाइदिने कार्यक्रम रहेको छ ।

राष्ट्रपति कार्यालयका अनुसार दिउँसो ३ देखि ३ः३० बजेसम्म सम्माननीयहरू, उपप्रधानमन्त्री, प्रदेश प्रमुख, मन्त्री, न्यायाधीश, सांसद, संवैधानिक निकायका पदाधिकारीलगायत विशिष्ट महानुभावहरूलाई राष्ट्रपति भवनमा राष्ट्रपति पौडेलले टीकाजमरा लगाइदिनेछन् ।

साथै, सोही समयमा निजामती, जंगी, प्रहरीतर्फका अधिकृतस्तरका राष्ट्रसेवकलाई पनि टीकाजमरा लगाइदिने कार्यक्रम छ ।यसैगरी दिउँसो ३ः३० देखि ५ बजेसम्म इच्छुक सर्वसाधारणलाई पनि राष्ट्रपति पौडेलले टीकाजमरा लगाइदिने कार्यक्रम छ ।