• मंसिर १२ २०८१, बुधबार

एमालेले केन्द्रीय कार्यालय च्यासलबाट कीर्तिपुरमा सार्ने, भोलि शिलान्यास

आश्विन २४ २०८१, बिहीबार

२४ असोज, काठमाडौं । नेकपा एमालेले केन्द्रीय कार्यालय कीर्तिपुरमा सार्ने भएको छ । ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा पटक पटक बाढी पसेर क्षति पुगेपछि एमालेले कीर्तिपुरमा स्थापना गर्ने निर्णय गरेको हो । आज दिउँसो बसेको एमाले केन्द्रीय सचिवालयको बैठकले कीर्तिपुर नगरपालिका २ स्थित कलङ्की तीनधारा क्षेत्रको जग्गामा शुक्रबार दिउँसो नयाँ कार्यालय भवन शिलान्यास गर्ने निर्णय गरेको छ ।

बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले दिएको जानकारी अनुसार नयाँ कार्यालय भवको शिलान्यास शुक्रबार दिउँसो १२ बजेर २५ मिनेटमा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन् । यसअघि २०७२ सालको भूकम्पले बल्खुस्थित कार्यालय भवनमा क्षति पुगेपछि एमालेले बबरमहलमा कार्यालय सारेको थियो । त्यहाँ छोटो समयमात्र कार्यालय सञ्चालन गरेको एमालेले पछि ललितपुरको च्यासलस्थित पुष्पलाल स्मृति भवनमा केन्द्रीय कार्यालय स्थापना गरेको थियो ।

खोला किनारमै रहेको च्यासलस्थित कार्यालयमा यस वर्षको मनसुन अवधिमा चार पटकसम्म बाढी पसेको थियो । बल्खुको कार्यालयमा भूकम्पले क्षति पुगेपछि भाडाको भवनबाट कार्यालय चलाउँदै आएको एमालेले अब कीर्तिपुरमा भने स्थायी कार्यालय सन्चालन गर्ने निर्णय गरेको छ । नयाँ कार्यालय भवन मदन भण्डारीको स्मृतिमा बनाइने छ । नेकपा एमालेले बाढी पहिरोबाट प्रभावित क्षेत्रमा राहत र तथा पुनस्र्थापनाको काममा आफ्ना नेता कार्यकर्ताहरुलाई स्वयंसेवकको रुपमा अझै केही दिन खटिरहन निर्देशन समेत दिएको छ ।

यसैगरी मंसिर १६ गते हुने स्थानीय तह उपचुनावका लागि सम्भावित उम्मेदवारको नामावली कात्तिक २२ गतेसम्म तल्ला कमिटीबाट आवश्यक निर्णय गरेर केन्द्रीय कार्यालयमा पठाउन पनि एमालेले भनेको छ ।